चिलीमा शक्तिशाली भूकम्प पाँचको मृत्यु

सान्टीयागो, ३१ भदौ । चिलीमा बुधबार राति ८.३ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । यस शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको जनाइएको छ । उक्त भूकम्प कारण सुनामी चेतावनी दिइएको इलाकाबाट १० लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ । यस भूकम्पबाट ब्युनस एअर्स, अर्जेन्टिनामा पनि भवनहरुमा कम्पन महसुस गरिएको जनाइएको छ ।
चिलीमा सो शक्तिशाली भूकम्पपछि त्रासले व्यक्तिहरु सडक दौडिएका बताइएको छ । हिजो गएको चिलीको यो भूकम्प सो देशको इतिहासमा नै छठौं शक्तिशाली भूकम्पमा रुपमा रहेको बताइएको छ ।
विश्वमा यस वर्षमा गएको भूकम्प मध्ये पनि चिलीमा बुधबार गएको यो शक्तिशाली भएको त्यहाँका गृहमन्त्री महमुद एलेयले बताउनु भएको छ ।
यस भूकम्पबाट पाँच व्यक्तिको मृत्यु भएको १० लाखलाई सुरक्षित स्थानमा सारिएको र २ लाख ४५ हजार घरपरिवार विना विद्युत् लाइन बसेका पनि गृहमन्त्री महमुदले बताउनु भएको छ ।
यस भूकम्पको केन्द्रविन्दु मध्य चोआपा प्रान्तनजिकै नै रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार सो भूकम्प ८.३ रिक्टर स्केलको मापन गरिएको र यस भूकम्पको सान्टीयागोबाट २२८ किलोमिटर उत्तरमा रहेको इलाका बढी प्रभावित भएको जनाइएको छ ।
चिलीका गृहमन्त्री जोर्गे बुर्गोसले तटीय क्षेत्रमा पर्ने सहर र गाउँबाट सवै व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने आदेश दिइएको बताउनु भएको छ ।
भूकम्पको विस्तृत विवरणलगायत मानवीय र सम्पत्ती क्षतिको समाचार प्राप्त भइनसकेको समाचारमा जनाइएको छ । गत वर्षको अप्रिल महिनामा उत्तरी चिलीमा आएको ८.२ रिक्टर स्केल शक्तिशाली भूकम्पमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै दश लाख सुरक्षित स्थानमा सारिएको थियो ।