समाजलाई चुनौती दिँदै छोरीले दिइन् बाबुलाई दागबत्ती

फाइल तस्बिर ।
फाइल तस्बिर ।

तनहुँ- हिन्दूहरूको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ ।

तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेकी छिन् ब्यासनगरपालिका वडा नं १ निवासी ४७ वर्षकी सीता शाही ।

उनका पिता डिलबहादुरको ७९ वर्षको उमेरमा सोमबार मृत्यु भएपछि सेतीमादी नदीस्थित डमौलघाटमा गएर छोरी सीताले दागबत्ती दिएकी हुन् ।

छोरी पनि छोरा समान हुन् छोरी सिताले भन्नुभयो, ‘बाबुआमाले हुर्काए बढाए, पढाए, विवाह दान गरे भने हामी छोरीले छोराको भूमिका किन निर्वाह नगर्ने ?’ तर सीता जेठी छोरी र अविवाहित पनि हुन् ।

समाजमा हुने विकृति विसङ्तिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने उद्देश्यले पनि बाबुलाई दागबत्ती दिएर छोरी सीता काजकिरियामा बसेकी छिन् ।

मुटुसम्बन्धी रोगले ग्रसित बाबुको मृत्यु भएपछि हिन्दू संस्कारअनुसार छोरी सीताले १३ दिनसम्म किरियामा बस्ने अठोट गरेको स्थानीयवासी अशोक गोशलीले बताउनुभयो ।