
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेता उपस्थित भएनन् ।
ढिलोगरी सूचना पठाएकाले शीर्ष नेताहरु बैठकमा सहभागी हुन नसकेको सदभावना महासचिव मनीषकुमार सुमनले जानकारी दिए । बालुवाटारमा मोर्चाको वार्ता टोलीका सदस्यहरु भने सहभागी भए । ‘हाम्रा प्रतिनिधिहरुले बालुवाटारमा कुनै विषयमा छलफल गर्नुहुन्न, खाली सुनेर मात्रै आउनुहुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा मोर्चाका नेताहरु हृदयेश त्रिपाठी, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र रामनरेश राय सहभागी भएका छन् ।
प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत मोर्चाका नेताहरुको संयुक्त बैठक चलिरहँदा आन्दोलनको समीक्षा र भावी कार्यक्रम तय गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक विराटनगरमा सुरु भएको छ ।
विराटनगर बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको छ ।






