एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताउनुभएको छ । सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने धारणा राख्नु भयो ।
गोरखाको घ्याल्चोक–९ स्थित सामूहिक कृषि सहकारीको १४औँ साधारणसभाको आज उद्घाटन गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ । हतार गरेर असहमतिको संविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ ।”
मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने उहाँको ठम्याई छ । सबै दल आफ्नो अडानबाट लचिलो भएर बैठकमा प्रस्तुत हुने हो भने सहमति जुट्ने उहाँले तर्क गर्नुभयो । नेता भट्टराईले सहकारीले स्थानीय गरिब जनताको जीवन उकास्न सहयोग गरेको उल्लेख गर्नु भयो ।
हतारमा संविधान जारी गरे अर्को द्वन्द्व






