काठमाडौं– लोडसेडिङ वढाउन भूमिका खेलेको आरोप लाग्दै आएका मुकेश काफ्लेले नेपाली प्रजातान्त्रिक इन्जिनियर्सहरुको छाता संगठन ‘सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल’(सिडेन)को पाँचौ कार्यकारिणी समितीको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका छन् ।
ललितपुरमा जारी अधिवेशनमा काफ्लेसँगको प्रतिस्पर्धामा शंकर प्रसाद पण्डितले उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी महासचिवमा बिनोद प्रकाश पण्डित र गोरखराज जोशीले आफ्नो भिड्ने भएका छन् । नयाँ कार्य समितिका लागि हुने निर्वाचनले पाँच पदाधिकारी र दश कार्य समिति सदस्य चयन गर्नेछ । महासचिवका प्रत्यासी बिनोद प्रकाश पण्डित अध्यक्ष उम्मेद्वार शंकर पण्डित प्यानलका भएको वताइएको छ ।
पण्डित स्थानीय पुर्वाधार बिकास तथा कृषी सडक बिभाग (डोलीडार)मा बिगत २२ बर्ष देखि कार्यरत छन् । हाल उनी डोलिडार अन्तर्गतको राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रमको परियोजना संयोजकका रुपमा कार्यरत रहेका छन् ।
अर्का प्रत्यासी मुकेश राज काफ्लेले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर काम गरिसकेका छन् । काफ्ले कुलमान घिसिङ भन्दा अगाडीका कार्यकारी निर्देशक हुन् । लोडसेडिङ बढाउन भुमिका खेलेको भन्दै काफ्लेको आलोचना हुँदै आएको छ । काफ्ले काँग्रेस सभापति शेरवहादुर देउवा निकट हुन् ।
नयाँ नेतृत्व चयन गदै सिडेनको सम्मेलन आज सकिने वताइएको छ ।






