प्रवासीको सहयोगमा कम्प्युटर कक्षा

गुल्मी १५ असोज । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका स्थानीयले सहयोग गरेपछि ग्वाघा माध्यमिक विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरेको छ । विश्व प्रविधिसँग नयाँ युगमा प्रवेश गरिरहेको अवस्थामा आफ्नो गाउँको विद्यालय भने पछाडि परेको भन्दै बेलायत र हङकङमा कार्यरत गुल्मीको ग्वाघावासीले आफ्नो गाउँका विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका थिए । कम्युटर पाएपछि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरेको हो । पछिल्लो समय हङकङवासी ग्वाघाली समाजले ग्वाघा माध्यमिक विद्यालयमा एक लाख ३० हजार मूल्यबराबरको कम्युटर प्रदान गरेको छ । ग्वाघा–५ घर भई बेलायतमा कार्यरत वोम पुनले ग्वाघा माध्यमिक विद्यालयका लागि एक थान कम्प्युटर उपलब्ध गराए । प्रवासमा रहेका ग्वाघालीले सहयोग गरेपछि जिल्ला शिक्षा कार्यालयले पनि एक लाख ६० हजार रुपैयाँ अनुदान दिएको छ । बाँकी ४० हजार विद्यालयको स्रोत जुटाएर ग्वाघा माविले गाउँमै विद्यार्थीका लागि कम्प्युटर कक्षा सञ्चालन गरेको छ । अहिले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर कक्षा सञ्चालन गरिएको र क्रमिक रूपमा वृद्धि गरिँदै लगिने विद्यालयका प्रधानाध्यापक गणेशबहादुर कार्कीले बताए । बेलायत र हङकङमा बस्ने ग्वाघालीले गाउँका शैक्षिक र स्वास्थ्य संस्थाको विकासमा विगत लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको उनले बताए । ‘पुनलगायतका युकेवासी ग्वाघाली समाजले एसएलसी परीक्षामा वर्षैपिच्छे उत्कृष्ट नतिजा लिएर उत्तीर्ण हुने विद्यार्थीलाई १० हजार राशिको पुरस्कार कोषसमेत स्थापना गरिदिएका छन्,’ उनले भने, ‘हरेक वर्ष विभिन्न कामका लागि आर्थिक सहयोग पुर्‍याउँदै आएका छन् ।’ त्यस्तै, गत १२ वैशाखको भूकम्पले क्षतिग्रस्त ग्वाघा उपस्वास्थ्य चौकी भवन निर्माणका लागि युकेमा कार्यरत पुनको आग्रहमा तम्घास घर भई बेलायतमा कार्यरत प्रकाश काउछा र माया दर्लामी काउछाको सक्रियतामा त्यहाँबाट ८० हजार रपैयाँ संकलन गरी पठाइएको छ । बेलायत र हङकङलगायत विभिन्न मुलुकमा कार्यरत ग्वाघालीले ग्वाघाको शैक्षिक र स्वास्थ्य क्षेत्रमा मात्र नभई भूकम्पपीडित सर्वसाधारणलाई पनि विभिन्न सहयोग गर्दै आएका छन् । नयाँ पत्रिकाबाट