काठमाडौं,४ चैत – मुलुकले धेरै वर्षपछि महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाएको छ । गृह मन्त्रालयले मंगलबार हालै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी इन्दु घिमिरेलाई सिडिओ बनाएको हो । घिमिरेलाई स्याङ्जाको सिडिओ बनाइएको छ ।
इन्दुले लोकसेवा आयोगले सञ्चालन गरेको खुला र आन्तरिक प्रतिस्पर्धा गरी दुवैतर्फ लिखितमा नाम निकालेकी थिइन् । स्याङ्जा र धादिङमा स्थानीय विकास अधिकारी भएर प्रभावकारी भूमिका निर्वाह गरेकी घिमिरेले प्रमुख जिल्ला अधिकारीको रुपमा आगामी साताबाट जिम्मेवारी सम्हाल्ने बताइन् ।
चक्रपथ डटकमसँंग कुरा गर्दै भनिन्,‘ यो नयाँं जिम्मेवारी हो, यसलाई दृढ इच्छा शक्ति, लगनशीलता र इमानका साथ पुरा गर्नेछु ।’ उनले यसलाई महिलाले पाएको जिम्मेवारीको अर्थमा आफूले नबुझेको उल्लेख गर्दै भनिन्, ‘जसरी पुरुषले जिम्मेवारी पाउने हो मैले पनि त्यसरी पाएको हुँं, यो जिम्मेवारीलाई प्रभावकारी बनाउने प्रयास गर्छु ।’ गुल्मीको रुरु गाविसमा जन्मेकी इन्दुको हाल पाल्पा तानसेनमा बसोबास छ ।






