काठमाडौं, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगी पशुपति मुरारकाले पाएका छन् ।
भ्रष्टाचार कसुरमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि बुधबार दिउँसो बसेको पदाधिकारी बैठकले बरिष्ठ उपाध्यक्ष मुरारकालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
महासंघको विधानअनुसार कुनै पनि पदाधिकारी वा कार्यकारी सदस्यलाई प्रहरीले पक्राउ गरेपछि उक्त पद रिक्त हुने र ६ महिनाभित्र निर्वाचन गराई पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । पाण्डे ११ महिनाअघि मात्रै दुर्इ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी लगातार दुर्इपटक उपाध्यक्ष थिए ।
तत्कालीन खानेपानी तथा ढल निकास लिमिटेडमा कर्मचारी रहँदा पाण्डेले २०३८ सालमा भ्रष्टाचार गरेको अभियोगको केही समयमात्र सजाय भोगेको र केही समय भोग्नै बाँकी थियो । पाण्डेले तत्कालीन दरबारको हुकुम प्रमांगीमा आधा कसुर मुक्त गरेको दाबी गर्दै आएका थिए ।
तर, काठमाडौं जिल्ला अदालतले भने पाण्डेको दाबी अस्वीकार गर्दै बाँकी रहेको जेल सजायँ र जरिवाना दुबै असूल गर्न आदेश दिएको थियो । उक्त आदेशपछि थुनछेक नगर्न अन्तरिम आदेशको माग गर्दै पाण्डेले सर्वोच्च अदालतसमक्ष माग गरेका थिए । सर्वोच्चले गत भदौमा तत्काल थुनछेक नगर्न आदेश दिएको थियो ।
तर, मंगलबार न्यायाधीश कल्याण श्रेष्ठ र न्यायधीश ओमप्रकाश मिश्रको इजलासले पाण्डेको अन्तरिम आदेश खारेज गरेको थियो । त्यसलगतै प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो ।






