काठमाडौं, कार्तिक २३ । म्यानमारमा विपक्षी नेसनल लिग फर डेमोक्रेसी एएलडीले आइतबार सम्पन्न चुनावमा पार्टीको जित सुनिश्चित भएको बताएको छ ।
पार्टी प्रवक्ताले करिब ७० प्रतिशत सीटमा एलएलडीले जित्ने विश्वास व्यक्त गरेका छन् ।
पार्टी नेतृ आङ साङ सुचीले निर्वाचनको परिणामबारे सबैमा एक खालको अनुमान रहेको भन्दै पार्टीको जितप्रति विश्वास व्यक्त गरिन् ।
आधिकारिक परिणामअनुसार सार्वजनिक १२ सीट सबैमा एनएलडीले जितेको छ । ८० प्रतिशतले मतदान गरेको निर्वाचनमा लोकतन्त्र पक्षधरको जित हुने आंकलन गरिएको छ ।
२५ वर्षपछि भएको निर्वाचनको नतिजाको पर्खाइमा रहेकाहरुलाई नेत्री सुचीले धैर्य गर्न आग्रह गरिन् । पूर्णमत परिणाम आउन भने केही दिन लाग्ने र फेब्रुवरीसम्म नयाँ राष्ट्रपति चयन हुने अनुमान गरिएको छ ।
यद्यपि, सन्तान विदेशी नागरिक भएको भन्दै सुचीलाई राष्ट्रपति बन्नबाट संवैधानिकरुपमै रोक लगाइएको छ ।
दशकौं लामो सैनिक शासनपछि म्यानमारमा प्रजातन्त्र बहालीका क्रममा संसद सदस्यका लागि मतदान भएको हो । निर्वाचनमा सत्तारुढ सैन्य समर्थित युनियन सोलिडारिटी डेभलपमेन्ट तथा सुचीको पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
६६४ सिटका लागि भएको निर्वाचनमा ९० पार्टीका ६ हजार उम्मेदवार मैदानमा छन् । यसअघि, सन् १९९० मा भएको चुनावमा विपक्षी नेतृ सुचीको पार्टी एनएलडीले बहुमत ल्याएपनि सैन्य शासकले चुनावी नतिजा अस्वीकार गर्दै सुचीलाई २ दशकभन्दा लामो समयसम्म नजरबन्दमा राखेको थियो ।
नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई यसपटक पनि धोका हुने हो कि भन्ने चिन्ता छ । म्यानमारको संविधानले २५ प्रतिशत सिट सेनाका लागि आरक्षित गरेको छ ।
यसमा बहुमत जुटाउन सुचीको पार्टीलाई कम्तिमा ६७ प्रतिशत सिट जित्नुपर्ने हुन्छ । (एजेन्सी)







