
काठमाडौं-गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्ष (ओटी)मै दुई बिरामीको मुटु खोलिएको थियो । बिरामीको शल्यक्रिया सकाएर हार्टलङ मेसिनबाट निकाल्ने तयारी हुँदै थियो । अर्को बिरामीको मुटु भर्खरै बन्द गराएर मुटु र फोक्सो सञ्चालन गराउने कृत्रिम सर्कुलेटर मेसिन (हार्टलङ) मा जोडिएको थियो। शल्यक्रियामा संलग्न मुटु सर्जन डा. रवीन्द्र तिम्लाको टिम मुटुभित्रको भल्ब फेर्ने प्रक्रियामा थियो । पूरै भवन हल्लिन थाल्यो । शल्यक्रिया कक्षमा जडान गरिएका लाइट, ओटी टेबल पूरै हल्लिन थाल्यो।
मंगलबार १२:५० को शक्तिशाली धक्का आउँदा मुटुरोग उपचारका प्रमुख अस्पताल गंगालाल र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सप्लान्ट सेन्टरमा चार वटा प्रमुख शल्यक्रिया जारी थियो । गंगालालमा डा. ज्योतिन्द्र शर्मा नेतृत्वको टिमले दुई वटै शल्यक्रियामा मुटुको प्रमुख शल्यक्रिया ओपन हार्ट सर्जरी गर्दै थियो । शर्मा नेतृत्वको टिमले गरेको शल्यक्रिया सकिएर मुटु नर्मल सञ्चालनको तयारी हुँदै थियो ।
अर्को शल्यकक्षमा डा. तिम्लाको टिम थियो । ती बिरामीको मुटुको कृत्रिम सञ्चालनको अवस्थामा लगेर भल्ब फेर्ने क्रम चल्दै थियो ।
मनमोहन कार्डियोथोरासिसमा डा. भगवान कोइराला नेतृत्वको टिमले ओपन हार्ट सर्जरी गर्दै थियो भने अर्को शल्यकक्षमा डा. प्रकाश सायमीको टिम थोरासिस सर्जरीमा थियो । मानिस जीवित रहनका लागि एक मिनेट पनि रोकिन नहुने महŒवपूर्ण अंग मुटु र फोक्सो नै कृत्रिम रुपमा सञ्चालन भइरहेको अवस्थामा भूकम्पपछि केहीबेर मात्र पनि शल्यक्रिया टोलीले साथ छोडेको भए ज्यान जाने अवस्था थियो । दुवै अस्पतालका जिम्मेवार चिकित्सकले त्यो कहालीलाग्दो क्षणलाई सामना गरेर शल्यक्रिया सक्काएका छन् ।
डा. कोइरालाले बुधबार आफ्नो फेसबुक वालमा त्यो भयावह क्षण व्याख्या गर्दै लेखेका छन्, ‘भूकम्पले पाँचतले भवन हल्लिन थाल्यो । शल्यक्रिया हुँदै थियो, हाम्रो खुट्टाले टेकिरहेको थिएन, ओटीका लाइटहरु हल्लिन थाल्यो । प्यासेन्ट भुइँमा खस्न लागे । टेबल सबै हल्लियो । चेस्ट रिट्याक्टरको सहयोगले मैले बिरामीलाई खस्नबाट जोगाएँ ।’
डा. शर्माका अनुसार कृत्रिम मेसिनमा जोडिरहेको मुटुलाई छोडेर गएको भए ‘मुटु चलाउन हालेका क्यनुला फुत्किएर छताछुल्ला भएर एकैछिनमा बिरामीको मृत्यु हुन सक्थ्यो,’ उनले भने, ‘भल्बहरु बाँधेका धागो फुत्किएर सबै रगत जान सक्थ्यो ।’ चिकित्सकका अनुसार वयष्कमा एक मिनेटमा पाँच लिटर रगत मुटुले पम्प गर्छ । केहीबेर मात्र क्यानुलाले छाडे वा धागो खुस्किए बिरामीको ज्यान जान सक्छ ।
मंगलबारको पहिलो ठूलो धक्कापछि पनि क्रमिक रुपमा आएका तीन वटा धक्कामा पनि दुवै शल्यक्रिया टोलीले ओटी छोडेन । ‘दोस्रोपल्ट पनि उत्तिकै ठूलो लाग्ने धक्का आउँदाचाहिँ शल्यक्रिया कक्षमा केही नर्स रुन थाले, अन्य केही कराउन थालेका थिए, तर कसैले पनि ओटी छाडेनन्,’ डा. कोइरालाले भने ।
त्यो क्षण सम्झँदै डा. कोइरालाले भने, ‘फलामका बस्तुहरु एकअर्कामा ठोक्किँदाजस्तो आवाज आइरहेको थियो । मलाई लाग्यो, मैले शल्यक्रिया गर्ने आज अन्तिम दिन हो । कृत्रिम तरिकाले चलाइरहेको मुटु छामेर हेर्दा ठीक थियो । मैले बिरामीको मुटु छामेँ, ठीकै थियो । तर हार्टलङ मेसिन अफ भएको थिएन ।’ डा. कोइराला कराइरहे पनि सबै स्तब्ध थिए । ‘कृपा प्रार्थना गर्दै थिइन्, एन्ड्रीले अब सकियो धैर्य गरौं भनिन्,’ उनले भने ।
कोइरालाले दोस्रो धक्का आउँदा भने सबै रोएको उल्लेख गरे । ‘लगत्तै फेरि भूकम्प आयो, अनि सबै टिमका सबै सदस्य रोए । तर एक घन्टासम्म कसैले ओटी छाडेनन्, शल्यक्रिया नसकिँदासम्म ।’
अग्लो भवन भत्किने डरले शल्यक्रिया गरिएको बिरामीलाई तत्काल त्रिवि शिक्षण अस्पतालतिरको आइसियुमा सारिएको कोइरालो बताए । ‘पछि शल्यक्रियाको समयमा आएको आवाज के रहेछ भनेर खोजेँ,’ कोइरालाले थपे, ‘भूकम्प गएको बखत टाउकोमाथि आएको साउन्ड सिलिन्डर खसेका रहेछन् । भुइँमा खसेका ती सिलिन्डरले हामीलाई केही भएन ।’
भूकम्पपछि मनमोहनमा लिफ्ट पनि सञ्चालन नरहेकोले बिरामीलाई शल्यक्रिया टोलीले बेडमा उचालेरै शिक्षण अस्पतालतिर राखेका थिए । ‘शल्यक्रिया सकिएपछि बिरामीका आफन्त खोज्न स्टाफ पठाउँदा पहिला भेटिएनन्, पछि त उनीहरु रोइरहेका थिए, उनीहरुलाई साह्रै आत्तिएका रहेछन् ।’
गंगालालका सर्जरी विभाग प्रमुख डा. ज्योतिन्द्र शर्माले पनि त्यो कहालीलाग्दो क्षणमा कोही ननिस्केको बताए । ‘बिरामीलाई मेसिनमा राखिसकेको अवस्थामा एनेस्थेसिया टिमका चिकित्सक बाहिर निस्कन पनि सक्थे,’ उनले भने, ‘उहाँहरुसमेत बसेर सबै टिमलाई धैर्य गराइरहनुभयो।’
डा. शर्माले चिकित्सकले त्यस्तो विपत्तिको समयमा इमानदार भएर धर्म छोड्न नहुने दायित्व पूरा गरेको बताए । ‘आफ्नो धर्म नै त्यही हो, बिल्डिङ नै कोल्याप्स भएको भए के हुन्थ्यो, म भन्न सक्दिनँ तर अघिपछि ओटीबाट भाग्न मिल्दैन,’ उनले परिवार, आफन्त र घर गुमाएका सैनिक प्रहरी पनि उद्धारमा खटिइरहेको भन्दै चिकित्सकले पनि पेसागत दायित्व निर्वाह गरेको बताए ।
शर्माका अनुसार मंगलबारका दोस्रो र तेस्रो धक्का आउँदा पनि शल्यक्रिया सकिइसकेको थिएन् । ‘बरु फटाफट गर्ने भनेर सबै लाग्यौं,’ उनले भने । अहिले शल्यक्रिया गरिएका चारै बिरामीको स्वास्थ्य सुध्रिएको छ ।






