भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि विहीबार (आज) देखि निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले विहीबार एक समारोहबीच विमानस्थलको शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थल निमार्णपछि लुम्बिनी क्षेत्रको मात्र नभइ मुलुककै मुहार फेरिने बताए । उनले समयमै काम पूरा गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे ।
मुलुक र जनतालाई विकास र सम्मृद्धि चाहिएका बेला बन्द, हडताल जस्ता विध्वंशकारी कार्य नगर्न प्रधानमन्त्रीले सबैलाई आग्रह गरे । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एअरपोर्ट कन्स्ट्रक्सन गु्रपले निर्माण ठेक्का लिएको छ भने सन् २०१७ डिसेम्बरभित्र विमानस्थल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । विमानस्थल निर्माणमा ६ अर्ब २२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
एसियाली विकास बैंकको ५ करोड ८५ लाख डलर र ओएफआइडीको १ करोड ५० लाख डलर ऋण एवं अनुदानमा विमानस्थल बनाउन लागिएको हो । स्तरोन्नतिपछि विमानस्थलको धावनमार्ग ३ हजार मिटरको हुनेछ भने वार्षिक ७ लाख ६० हजार यात्रुलाई थेग्ने क्षमता रहने छ ।
प्रथम चरणको निर्माणपछि विमानस्थलका लागि आवश्यक अन्य प्रविधिका लागि पुनः ग्लोबल टेन्डर आह्वान हुने बताइएको छ  । यो विमानस्थल सन्चालमा आएपछि स्वदेशी र विदेशी गरी वार्षिक साढे ४ लाख पर्यटकले लुम्बिनी भ्रमण गर्ने अनुमान गरिएको छ ।