लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यापक तयारी गरेको बताएका छन् । प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।
केन्द्रीय अध्यक्ष भवन भट्टले गत बुधबार मध्यराति एक वक्तव्य दिँदै अबको कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्य नेतृत्वका लागि अघि सर्न लागेका हुन् । उनले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताए । एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको बताउँदै आचार्यले अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर २, ३ जनाले निर्णय गर्नुभन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको जनाए ।






