लण्डन । गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति चयन गर्न आज (२ अगस्त) निर्वाचन हुँदै छ ।
सोमबार मध्यान्ह बाह्र बजेबाट शुरु हुने निर्वाचन मंगलबार मध्यान्ह बाह्र बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार गत शनिबार, ३१ जुलाईमा नै निर्वाचन हुनुपर्ने थियो । तर, निर्वाचन हुनु भन्दा केही घण्टा अगाडि मात्रै निर्वाचन समितिले निर्वाचन स्थगित गर्दै दुई दिन पर सारेको थियो ।
मतदानमा भाग लिन अपिल यसै बीच समावेशी समूहको तर्फ़बाट अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्।
सोमबार बिहान एक अपिल प्रकाशित गर्दै गाहामगरले ‘संस्थालाई शुद्धिकरण र बेलायतस्थित नेपाली समाजलाई एकीकरण’ गर्ने उद्देश्यले आफुहरु चुनावमा भाग लिइ रहेकाले आफु र आफ्नो टिमलाई मतदान गरी विजयी बनाउन अपिल गरे।
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बाबा आमा, युवा, विद्यार्थी, महिला, व्यवसायी लगायत सम्पूर्ण नेपाली समुदायको समस्या र चाहनाका बारे म अवगत छु। यो संस्था र बेलायतस्थित नेपाली समाजको हितको लागि मैले चौबिसै घण्टा काम गर्ने छु,” एनआरएनए युकेमा दुइ पटक उपाध्यक्ष भै सकेका गाहा मगरले भने। “तपाइंहरु सबैको आशिर्वाद पाउनेमा हामी विश्वस्त छौं। ” उनले आफुले अगाडी सारेका सात बुंदे एजेन्डालाई कार्यान्वयन गर्न म्यान्डेट दिन पनि सबै मतदाताहरुलाई अपिल गरेका छन्।
गाहा मगर सबैभन्दा अगाडि दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरेका प्रेम गाहा मगर आगामी कार्यकालका लागि अध्यक्षको दौडमा सबैभन्दा अगाडि देखिएका छन् । दुई पटक सम्म निर्वाचित भएरै कार्य समितिमा रही काम गरेको र पदमा रहेर नेपाली समुदायको हितमा गरेका कामका आधारमा गाहा मगर सबैभन्दा लोकप्रिय देखिएका छन् । उनी आफैं पनि भूतपूर्व गोर्खा सैनिक रहेकाले गोर्खा सैनिकहरुको बाहुल्य रहेको बेलायतमा उनी बलिया उम्मेदवार मानिएका छन् ।
संस्थाको आर्थिक पारदर्शिता, गोर्खाहरुको समस्या समाधान, युवा तथा महिलाहरुको उल्लेखनीय सहभागिता वृद्धि, नेपाली नागरिकता निरन्तरता तथा नेपालमा रहेको पैतृक सम्पत्तिको सुरक्षा लगायतका एजेण्डासहित उम्मेदवार बनेका गाहा मगरलाई धेरैको समर्थन प्राप्त भएको छ ।
एनआरएनको उद्गमस्थल बेलायतमा रहेका संघका संस्थापकहरु, अग्रज तथा अभियन्ताहरुले पनि गाहा मगरलाई समर्थन गरेका छन् । त्यस्तै, २०१९–२०२१ कार्य समितिका अधिकांश पदाधिकारी र सदस्यहरुले पनि गाहा मगरलाई समर्थन गरेका छन् ।
कार्य समितिका अन्य पदहरुमा उम्मेदवारी दिएका विभिन्न उम्मेदवारहरुले पनि गाहा मगरले अघि सारेका एजेण्डामा सहमति जनाएपछि गाहा मगरको नेतृत्वमा समावेशी टिम बनेको छ । उपाध्यक्षका उम्मेदवार सुनीलबाबु खड्का, गोविन्द खरेल, नारायण कँडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले गाहा मगरलाई समर्थन गरेका छन् भने महिला उपाध्यक्षकी उम्मेदवार शकुन्तला गुरुङ, महासचिवका उम्मेदवार खुसी लिम्बु, महिला संयोजक पदकी उम्मेदवार बिमला लिम्बु र युवा संयोजक तीर्थबहादुर मल्ल९अनिल०ले पनि गाहा मगरलाई समर्थन गरेका छन् ।
‘नेपाली समाज र चरित्र सुहाँउदो समावेशी टिम बनेको छ, अनुभवप्राप्त उम्मेदवारहरु जोडिनु भएको र वास्तविक अर्थमा नेपाली समाजको प्रतिनिधित्व गर्ने सक्षम टिम बनेको छ’, प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले भने । प्रेम गाहा मगर र उनका समर्थकहरुले सदस्यता अभियानमा गरेको योगदानबाटै यो समूहको जित सुनिश्चित भएको उनले बताए । कूल ११ हजार ३ सय ६५ सदस्यमध्ये अधिकांश सदस्य गाहा मगर र उनको टिमले बनाएका हुन् ।
त्यस्तै, बेलायतमा सक्रिय अधिकांश नेपाली समाज सम्बद्ध संघ संस्थाहरुले पनि गाहा मगरलाई संस्थागत रुपमा नै समर्थन गरेका छन् । पूर्व गोर्खाजहरुसँग सम्बद्ध संस्थाहरु गाहा मगरको पक्षमा रहेका छन् भने तमुधीं यूके, मगर संघ यूके लगायत का बेलायत स्थित नेपाली हरुका ठूला संस्थाहरु पनि उनको पक्षमा उभिएका छन् । मिडल्याण्डस्थित सबैभन्दा ठूलो संस्था साझा नेपाली समाजले पनि गाहा मगरलाई समर्थन गर्दै मतदानका लागि अभियान नै सन्चालन गरेको छ ।
चितवन समाज, नेप्लिज यूथ, गुल्मी समाज, स्याङ्जा समाज, गोर्खा समाज लगायतले पनि गाहा मगरलाई समर्थन गरेका छन् । त्यस्तै वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा सक्रिय सामाजिक संघ संस्थाले पनि गाहा मगरलाई नै समर्थन गरेका छन् ।
संस्थाको पारदर्शिता र आर्थिक सुशासनको पक्षमा लागेका कार्य समितिका उपाध्यक्षहरु नारायण कँडेल, सुनीलबाबु खड्का, रामचन्द्र पोखरेल र मोहन कार्की पनि गाहा मगरकै पक्षमा छन् । उनीहरु पुन: उपाध्यक्षको उम्मेदवार बनेका छन् । तीमध्ये पोखरेल निर्विरोध भइसकेका छन् ।






