बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायती संसदसँग गरे थप सहयोगको आग्रह

लन्डन । बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले आज बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह  को बैठकमा सहभागिता जनाएका छन्।

उक्त बैठकमा बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (FCDO) अन्तर्गत इन्डो–प्यासिफिक मन्त्री Rt Hon Baroness Winterton, APPG for Nepal की अध्यक्ष Hon Alex Baker MP तथा अन्य बेलायती सांसदहरूको उपस्थिति रहेको थियो।

बैठकका क्रममा मन्त्री बारोनेस विन्टरटनले आफ्नो हालैको नेपाल भ्रमणबारे जानकारी दिँदै सांसदहरूका जिज्ञासाको जवाफ दिएकी थिइन्। यसैगरी, एलेक्स बेकर सांसदले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई जोड दिँदै नेपाल सरकारका आवश्यकता र प्राथमिकताहरू सम्बोधन गर्न अधिकतम सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन्।

अन्य सांसदहरूले पनि नेपालप्रति बेलायतको सहयोगलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यवाहक राजदूत दुवाडीले बेलायत सरकार तथा जनताले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कठिन परिस्थितिमा नेपालप्रति देखाउँदै आएको निरन्तर ऐक्यबद्धता र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।

उनले पछिल्लो संकटपछिको अवस्थाबारे जानकारी दिँदै पुनर्निर्माण, पुनर्स्थापना तथा पुनरुत्थानका प्रयासहरूमा बेलायतबाट थप सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।

बैठकमा द्विपक्षीय चासोका अन्य महत्वपूर्ण विषयहरू, विशेषगरी गोर्खा भूतपूर्व सैनिकसँग सम्बन्धित बाँकी मुद्दाहरूबारे पनि छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *