ललिपपमा हानिकारक रसायन भेटियो

lalipapकाठमाडौँ, २२ असार । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ ।

अब भने बालबालिकालाई मनपर्ने ललिपप खुवाउन पनि सावधान हुनुपर्ने अवस्था आएको छ । गुडलाइफ ग्लोपप नामक ललिपप खाएकै कारण बर्दिया सानोश्री ताराताल नगरपालिका–५ का चारजना स्कुले बालबालिका बिरामी परेपछि ललिपपमा अखाद्य वस्तुको समिश्रण हुने गरेको तथ्य बाहिर आएको छ ।

एसियन बिस्कुट्स कन्फेक्सनरी प्रालि दुहवी, सुनसरीद्वारा उत्पादित अहिले पनि बिक्री–वितरण भइरहेको उक्त ललिपप खाएका कारण बर्दियाका चार बालबालिका बिरामी भएको राष्ट्रिय उपभोक्ता मञ्चले दाबी गरेको छ ।

मञ्चले मंगलबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको उक्त ललिपप बिक्री–वितरण गर्न रोक लगाउन सरकारसँग माग गरेको छ । ललिपप खाएकै कारण बालबालिका बिरामी परेको भन्ने घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र त्यसलगत्तै उक्त ललिपपको गुणस्तर जाँच गर्दा त्यसमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु भेटिएको मञ्चले जनाएको छ ।