ललितपुर, जेठ १५ उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेब गौतमले मिडियाका कारण वैदेशीक सहयोग रोकिएको आरोप लगाएका छन्।
भूकम्प पीडितहरूका लागि सहयोग गर्न सरकारले विदेशी राष्ट्र तथा दातृ निकायहरुलाई आग्रह गरेपनि मिडियाकै कारण आर्थिक सहयोग नआएको उनको दाबी गरे।
सामूदायिक सूचना नेटवर्कको सातौ वर्ष प्रवेशको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मिडियाप्रती निकै आक्रमक बनेका गौतमले भने, ‘यो सरकारले काम गर्न सक्दैन त्यसैले यो सरकारलाई सहयोग गर्न नहुने भन्ने हल्ला मिडियाले नै फैलाएको हो,’ उनले अगाडि थपे, ‘यो सरकार फेर्नुपर्छ भनेरसमेत मिडियाले लबिङ गरेको हो।’
भारत अमेरिका जस्ता शक्तिसम्पन्न मुलुकले समेत बिपत्तीका बेलामा अन्य देशसँग सहयोग मागेकेा धारणा राख्दै उनले भने ‘नेपाल संयुक्त राष्ट्रसंघ सदस्य भएकाले बिपतका बेलामा सहयोग माग्नु उसको अधिकार हो भने सहयोग गर्नु अन्य मुलुकको कर्तब्य हो।’
भुकम्प गएको बेलामा ६५ लाख मानिस सडकमा आएको प्रसंग कोट्टाउँदै उनले भने, ‘१२ गते भूकम्प आयो १३ गतेदेखि सरकारका बिरुद्धमा आलोचन गर्न सुरू गरियो। ६५ लाख मानिसलाई नत सरकारले सुरक्षा दिन सक्थ्यो नत खाना दिननै,’ उनले भने, ‘यो कुरालाई मिडियाले कहिल्यै ध्यान दिएन। बिपतका बेलामा सरकारले गरेको सहयोगलाई समर्थन गर्नुको साटो २४ घण्टासम्म पानी पनि खान पाइन भन्ने गुनासालाई खोजी खोजी बाहिर ल्याउने काम गर्यो।’
काठमाडौंमा ७० प्रतिसत घरहरु सुरक्षीत रहेको यथार्थलाई ध्यान नदिइकन पीडितहरुलाई एकोहोरो सरकारको मुख ताक्ने बनाउने काम समेत मिडियाबाट भएको उनले दाबी गरे। घर जोगीएकाले घर भत्किएकालाई किन सहयोग गरेनन् भन्नेतर्फ कुनै ध्यान नदिइएको उनको गुनासो छ।
कुन कुन ठाउँमा राहत पुगे कुन कुन ठाउँमा पुगेन कुन कुन ठाउँहरूमा दोहरिए भन्ने जानकारी मिडियाले दिनुपर्नेमा राहत नपाएको ठाउँको मात्रै समाचार बजाइएको भन्दै उनले आपत्ती जनाए।
कतिपय देशले जाहजमा पानी ल्याएपनि उनिहरुको उद्धेश्य सहयोग गर्नेभन्दा पनि आफ्ना नागरिक फिर्ता लाने रहेको उनले बताए|
मिडियाका कारण वैदेशीक सहयोग रोकियोः बामदेब गौतम






