जयपुरी घर्ती : न वैद्यतिर, न विप्लवतिर

काठमाडौं, ७ चैत । प्रचण्ड र वैद्यवीच विभाजन हुँदा माओवादी नेतृ एवं पूर्वसभासद जयपुरी घर्ती वैद्य माओवादीतर्फ लागिन् । वैद्यसँग फुटेर विप्लवले अर्को पार्टी गठन गरेपछि जयपुरी विप्लवतिर लाग्ने चर्चा थियो ।

जयपुरी विप्लवतिर लागिनन् । र वैद्य माओवादीमा पनि सक्रिय हुन छाडिन् । तर, माओवादी पुनर्गठन अभियानका नाममा प्रज्ञा प्रतिष्ठानमा गतसाता आयोजना भएको कार्यक्रममा जयपुरी मञ्चमा देखा परिन् ।

एकीकृत माओवादीबाट विभाजित भएको दुई वर्ष नपुग्दै नेकपा-माओवादीमा विभाजन आएपछि कुनै पार्टीमा नदेखिएकी महिला नेतृ जयपुरी अहिले कुनै गुटमा छैनन् । विप्लव माओवादीले जयपुरीलाई आफ्नै पार्टीमा रहेको दाबी गरे पनि उनले अस्वीकार गरेकी छन् ।

पछिल्लो समय माओवादी पार्टीमा श्रृंखलावद्ध विभाजन हुन थालेपछि तत्कालिन दश वर्षे माओवादी युद्धमा होमिएका माओवादीका युवा नेता कार्यकर्ताहरु जयपुरीजस्तै पार्टीबाट निश्त्रिmय रहँदै आएका छन् ।

जीवनलाई दाउमा राखेर युद्धमा होमिएका अधिकांश युवाहरु विदेशतिर पलायन भइरहेका छन् ।

कुनै गुटमा नदेखिएकी जयपुरीलाई अनलाइनखबरले सातदोबाटोस्थित डेरामा भेट्दा उनले कुनै गुटको पछि नलागी अध्ययनमा लागेको बताएकी थिइन् ।

पार्टी शान्ति प्रक्रियामा आएसँगै पार्टी क्रान्तिकारी विचार सिद्धान्तबाट च्यूत भएको निश्कर्षमा पुगेकी उनी अहिले भने विभाजित माओवादीहरुलाई एक बनाउने अभियानमा लागेकी छन् ।

दुई महिनाअघिसम्म निश्त्रिmय उनी यतिबेला भने निकै उत्साहित देखिएकी छन् । उनले उत्साहित हुँदै भनिन्-‘यतिबेला म त पार्टी एकता अभियानतिर लागेकी छु ।’

जयपुरीले पार्टी एकताको पहलस्वरुप एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि मात्रिका यादव र मणि थापासम्मलाई विभिन्न चरणमा भेट गरेको बताइन् ।

प्रचण्ड, वैद्य, विप्लवकै सल्लाहमा माओवादी पुनर्गठित अभियान चलाउने योजना बनेको जयपुरीले बताइन् ।

पार्टी एकता गर्न को-को कस्सिए ?

‘सुरुमा मौसम, रामदीप र म नै पार्टी एकताका लागि कस्सिएको हो’, जयपुरीले भनिन्, ‘पछि कर्णजीत, सुशील, जीवनलगायतका केन्द्रीय नेताहरु लाग्नुभो ।’

अहिले माओवादीलाई पुनर्गठित गर्ने अभियानमा एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ अग्रपंक्तिमा देखिएका छन् । एमाओवादीका प्रभाकरसहित नन्दकिशोर पुन ‘पासाङ’, वैद्य माओवादीका हितमान शाक्य, विप्लव माओवादीमा धर्मेन्द्र बास्तोला सक्रियरुपमा नै लागेका छन् ।

माओवादी विभाजनकै कारण आफूहरु पराजित र हरेक ठाउँमा कमजोर बन्दै गएको माओवादी नेताहरु बताउँछन् ।

विप्लव हच्किए

पार्टी पुर्नगठनको अभियान चलाउँदा सवै माओवादीका नेताहरु सकारात्मक देखिए पनि विप्लव भने अलि हच्किचाएको जयपुरी बताउँछिन् । ‘विप्लव दाइ तत्कालै पार्टी एकता गरिहाल्ने पक्षमा देखिनुभएको छैन,’ उनले भनिन्, ‘कुराकानी गर्दै, मिलाउँदै जानुपर्छ, सबैले आ-आफ्नो ठाउँबाट समीक्षा गर्नुपर्छ ।’

माओवादी विभाजनले समग्र माओवादी आन्दोलन नै कमजोर बनेकाले गर्दा माओवादीको टुटेको कडी जोड्नु आवश्यक रहेको उनी बताउँछिन् ।

सम्भव होला एकता ?

‘माओवादी विभाजनले नै आफूहरु कमजोर भएको नेताहरुले स्वीकार गरेका छन्,’ जयपुरी भन्छिन्, ‘त्यसैले सवैजसो नेताहरु नयाँ आधारमा नयाँ एकता कायम गर्नुपर्छ भन्नेमा सहमत देखिन्छन् ।’ नेताहरु गुटमा विभाजन हुँदै गएर पार्टी विभाजन गर्ने गरेको उनले बताइन् ।

सवै माओवादीलाई एकतावद्ध गर्न सहज नभएको जयपुरीले बताइन् । पार्टीहरुमा गुट मौलाउँदै गएर पार्टी फुटाउने गरेको उनको ठम्याइ छ । त्यसैले नयाँ आधारमा नयाँ एकता गर्दै सवै एक ठाउँमा आउनुपर्ने उनी बताउँछिन् ।