लण्डन । शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर अल्डरसटले बेलायतमा यही मार्च २१ मा हुने जनगणनामा नेपालीहरुको सहभागिता बढाउने उद्धेश्य स्वरुप हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
विशेषगरी जनगणनामा विवरण भर्न तथा अन्य भाषागत समस्याको कारण विवरण सही रुपमा भर्न नसक्ने तथा आफ्नो विवरण आँफैले भर्न नसक्ने नेपालीहरुका लागी फ़ोन मार्फत फर्म भर्न सहयोग गर्ने उद्धेश्य सहित हेल्प डेस्क सञ्चालनमा ल्याइएको होे ।
आईतवार दिन बिहान १० बजेबाट २ बजे सम्म सञ्चालनमा ल्याइएको उक्त हेल्प डेस्कमा आफ्नो विवरण आँफैले भर्न नसक्ने नेपालीहरुका लागी फोन मार्फत फर्म भर्न सहयोग गरिएको संस्थाका सचिब विक्रम भट्टराईले बताए ।
भाषाको समस्या र सिस्टमकाबारे ज्ञान नभएका नेपाली बुबाआमाहरुलाई सहयोग होस् भन्ने उद्देश्यले व्यवस्था गरिएको ‘हेल्पडेस्क’ का तिनवटा फोन नम्बरहरुमा बिहान दश नबज्दै लगातार फ़ोन आउन सुरु गरेको उनले बताए । १२० भन्दा धेरै फोन कल आएको र ती मध्ये आइतवार ५३ जनाको मात्रै विवरण लिएर दर्ता गरिएको उनको भनाई छ ।
आइतवार सम्पर्क गरी विवरण भर्न बाँकी रहेकाहरुलाई यही १३ गत शनिवार बिहान दश बजेदेखि दिनको दुईबजेसम्म फेरी सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फोनबाट मात्रै सहयोग गर्न सकिने जानकारी गराउदा पनि केही बुबाआमाहरु आँफै मन्दिरमा आएको कारण वर्तमान कोभिड १९ महामारीको खतरालाई मध्यनजर गर्दै घरमा नै गएर फ़ोन गर्नुहोस भनेर फर्काइएको थियो ।
छोराछोरी भएका बुबाआमाहरुलाई भने छोराछोरीकै सहयोगमा विवररण भर्न आग्रह गरिएको छ ।
उक्त हेल्प डेस्कमा उपलब्ध गराइने व्यक्तिगत विवरणहरु पूर्णरुपमा सुरक्षित रहने सेन्टरका अध्यक्ष भिम बांनियाले बताए ।
‘हामीलाई दिनुभएका जानकारीहरु नितान्त सुरक्षित साथ फ़र्ममा राखिने तथा ती डाटाहरु फर्म भरेर सबमीट गरेँ लगत्तै नष्ट गरिने छ,’ उनले भने, ‘यहाँको स्विकृति लिएर मात्रै विवरण फर्ममा हालिने, व्यक्तिगत आस्था र धारणालाई पुरै सम्मान गरिने कुरामा हामी प्रतिबद्ध छौँ ।’
बेलायतमा हुन गइरहेको जनगणनामा सबै नेपालीहरुको वास्तविक विवरण भर्ने र भराउने गरी नेपाली संघसंस्थाहरुले विभिन्न अभियानहरु चलाइरहेका छन् ।
आफ्नो विवरण भर्न चाहने व्यक्तिहरुले विक्रम भट्टराई ०७९१५०४६२०३, शुष्मा गुरुङ ०७९३९०६६९७९, भिम बानियाँ ०७९८८७९१०८३मा सम्पर्क गर्न सक्ने भएका छन् ।






