म्यान्मारमा सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषीको मृत्यु

काठमाडौँ । म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको छ ।

उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उनको परिवारलाई बुझाइएको छ। प्रदर्शनकारीहरूले उनको हत्या भएको आरोप लगाएका छन्।

विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिएका छन्।

सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए। तर आइतवार सुरक्षाकर्मीले उनको शव परिवारलाई बुझाएको थियो। म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन्।

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि अन्य भागमा जस्तै चीन र म्यान्मारको व्यापारिक नाका मुसेमा पनि दैनिक विरोध प्रदर्शन भइरहेको छ।

शवसँगै सुरक्षाकर्मीले विश्वकर्माको न्याश्नल लीग फर डिमोक्रसी ९एनएलडी० को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको छ। आङ सान सू चीको दल एनएलडी बर्माको सबैभन्दा ठूलो राजनीतिक दल हो। उक्त दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत पाएको थियो।

चुनावमा धाँधली भएको भन्दै सेनाले म्यान्मारमा सैनिक शासन लगाएको छ। सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा रहेको बीबीसीले जनाएको छ ।