लन्डन ।बेलायतमा हरेक वर्ष तमुधिं यूकेको आयोजनामा हुंदै आएको‘गोर्खा कप’ यही जुलाई २४ गते हुने भएको छ।
हरेक बर्ष आयोजना गरिदै आइएको उक्त गोर्खा कपलाई कोभिड १९ महामारीको अवस्थावीच भव्य र सभ्य बनाउने अभियानमा आयोजक लागेको छ ।
क्वीन्स एभ्न्यू, अल्डरसट ग्यारिजन सपोर्टस् सेन्टरमा हुने उक्त गोर्खा कप गत वर्ष मे महिनामा आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण स्थगन गरिएको थियो ।
तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले लण्डन नेपाल न्यूजसँग कुरा गर्दै महामारीबाट आक्रान्त मानिसहरुलाई यस प्रतियोगिताले राहात हुने बताए । उनका अनुसार यही मार्च ८ देखि बेलायत सरकारले लकडाउन खुकुलो बनाएर जुन २१ मा अन्त्य गर्ने योजना ल्याएसँगै प्रतियोगिताको मिति तय गरी तयारी अघि बढाइएको हो ।

गोर्खा कपमा अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि फुटबल खेल मात्र नभएर मनोरन्जन र व्यापारिक गतिविधिहरु समेत सञ्चालन गरिने भएको छ ।
तमुधिं यूकेका सल्लाहकार तथा तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष डेविड गुरुङले लण्डनबाट बलियो टीम बनाउने भन्दै यस पटक महामारीको पीडा बिर्सने गरी इभेन्टलाई भव्य बनाइने बताए ।
महामारीको जोखिम घट्दै गइरहेको अवस्थामा गत बर्ष स्थगन गरिएको प्रतियोगिता यस पटक हुने भएपछि बेलायतबासी नेपालीहरू खुशी भएका छन् ।







