काठमाडौं– अस्थायी शिक्षकको परीक्षा स्थगन गर्न माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले शैक्षिक हड्तालको घोषणा गरेका छन् । त्यसअघि उनीहरुले आजै शुक्रबार बिहान देशभरका क्याम्पसअगाडि प्रर्दशन र चक्काजाम गरेका छन् भने माइतिघर मण्डलामा ११ बजेपछि प्रदर्शन गर्दैछन् ।
शिक्षक सेवा आयोगले चैत २३ गतेबाट लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने प्रमुख माग राख्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले (चैत १७)आइतबार देखि अनिश्चितकालका लागि शैक्षिक हड्ताल गर्ने घोषणा गरेका हुन् ।
तीन विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले चैत १७ गतेबाट शैक्षिक हड्ताल गर्ने घोषणा गरको हो ।
बैठकपछि अनेरास्ववियुका अध्यक्ष नविना लामा,नेविसंघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा चैत १६ गते देशभरका कलेजअगाडि विहान ८ प्रर्दशन र चक्काजामा गर्ने, चैत १६ गते बिहान ११ बजे माइतीघर मण्डलामा प्र्रशन र चक्काजाम गर्ने र चैत १७ बाट अनिश्चितकालिन शैक्षिक अड्ताल गर्ने उल्लेख छ ।
विद्यार्थीहरुको हड्तालबाट जारी एसईई परीक्षा समेत प्रभावित हुने देखिएको छ ।
यसअघि परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु विद्यार्थी संगठनहरु छुट्टाछुट्टै स्थानमा अनसन बसेका छन् ।
शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । जसले जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गरेका हुन् ।
शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर, तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत बनाएपछि त्यसको विरोध हुदै आएको छ ।






