तक्दीर अधिकारी
सिड्नी । हिउँ खेल्न जाने क्रममा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुईजनाको अवस्था अज्ञात रहेको छ । कारमा पाँच जना थिए, एक महिला र एक पुरुषको निधन भएको बताइएको छ ।
घाइते तीनको स्वास्थ्य उपचार भइरहेको छ । एनएसडब्लु राज्यमा रहेको स्नो माउन्टेनमा १५ जनाको समूह हिउँ खेल्न गएका थिए । पाँच जना चढेको कार कोमाको मोनारो हाइवेमा दुर्घटना भएको थियो ।
उनीहरु सिडनीबाट शनिबार साँझ हिउँ खेल्न हिडेका थिए । सिड्नीबाट १५ जनाको टोली तीन समूहमा बाँडिएका थिए । टोली उडन रिजर्भमा गएर क्याम्पिङ गरी बसेको थियो । रातको २ बजे उठेर उनीहरु स्नो माउन्टेनतर्फ लागेका थिए । कार बिहानको ३ बजेतिर दुर्घटनामा परेको बताइन्छ । कार एउटा रुखमा ठोक्किएपछि ६० मिटरजति तल खसेको थियो । रुखमा ठोक्किने वित्तिकै एक महिला उछिटिएको र ड्राभर सिटमा बस्ने व्यक्ति कारबाट बाहिर निस्कन सकेनन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ । घाइतेलाई तत्काल क्यानबेरास्थिति अस्पतालमा हेलिकोप्टरमार्फत् लगिएको थियो । घाइतेहरु खतरामुक्त रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासलाई उदृत गर्दै समाचारहरु सार्वजनिक भएका छन् ।






