शिब भण्डारी
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा मंगलबार सांझ नेपालको पर्यटन प्रवर्धन सम्वन्धि कार्यक्रम भएको छ ।
कार्यक्रममा स्थानीय मेयर, काउन्सिलहरु, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायी, नेपालबाट आएका ट्राभल व्यवसायी, गैर आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि र अन्य शुभचिन्तक गरि करिब दुई सयको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिंदै यो वर्ष जुनसम्म नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको बताए ।
न्यौपानेले नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरु पुनर्निर्माण भइसकेको अवगत गराउंदै नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास दिलाए ।
स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको प्राकृतिक सौन्दर्यको चर्चा गरे । उनले बेलायत नेपालको पर्यटन विकासमा भरपर्दो श्रोत भएको जनाए । राजदूतले यस वर्ष झण्डै ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ जोशीले नेपालको प्राकृतिक सौन्दर्य र भौगोलिक तथा सांस्कृतिक विविधताबारे जानकारी दिंदै नेपालको हिम श्रृंखला अवलोकनका लागि नेपाल भ्रमण गर्न सबैमा आग्रह गरे । उक्त अवसरमा रोयल बोटानिकल गार्डेन एडिनबराका डा. मार्क वाट्सनले पनि बोलेका थिए ।
कार्यक्रममा नेपालको कला संस्कृति झल्कने मौलिक नाचहरु जस्तै खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदि प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालको पर्यटन सम्वन्धि वृत्तचित्र देखाइएको थियो । कार्यक्रमको पुरा भिडियो हेर्नुस-
उक्त कार्यक्रम दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए ।






