तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका एकजना प्रत्यासी कुल आचार्यले गत आइतबार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । वर्तमान उपाध्यक्ष आचार्यले लन्डनबाटै आफू एनआरएनए अध्यक्ष पदको उम्मेदवार भएको घोषणा गरेका थिए ।
आचार्यले औपचारिक रुपमा घोषणा गरेको समाचार लन्डनबाट कान्तिपुर संवाददाता नवीन पोखरेलले कान्तिपुर अनलाइनका लागि सम्पे्रषण गरेका थिए । आफ्नै संवाददाताले पठाएको समाचारलाई इ–कान्तिपुरले प्राथमिकताका साथ प्रकाशित ग-यो । तर, समाचार प्रकाशित भएको केही क्षणमै कान्तिपुरभित्र ठूलै हल्लीखल्ली मच्चियो ।
समाचार प्रकाशित भएको दुई घन्टापछि अनलाइनको जिम्मेवारी तोकिएका डेक्स प्रमुख कञ्चन अधिकारीमार्फत् समाचार हटाउन भनियो । अनलाइन प्रमुखको आदेश डेक्सले नमान्ने कुरै आउँदैन थियो ।
कान्तिपुरजस्तो जिम्मेवार संस्थाले प्रशारण गरिसकेको समाचार किन हटायो भन्ने विषयले धेरैलाई चकित बनायो । कान्तिपुरका सम्पादक नारायण वाग्ले यतिबेला अमेरिका भ्रमणमा छन् । उनले समाचार सम्पादक श्रीश भण्डारीलाई फोन गरेर समाचार हटाउन आदेश दिएको बताइन्छ । त्यसपछि भण्डारीले अनलाइन प्रमुख अधिकारीलाई कुल आचार्यको समाचार तुरुन्तै हटाउन आदेश दिएको बताइन्छ ।
एनआरएनएको नेतृत्व लिन खुट्टा उचालेका अर्का प्रत्यासी कुमार पन्त हुन् । पन्तलाई यतिबेला जीवा लामिछानेले काँधमा बोकेर हिडेका छन् । लामिछाने कान्तिपुर मिडिया ग्रुप (केएमजी) का सञ्चालकमध्येका एक हुन् । उनी केएमजीका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियासँग नजिक मानिन्छन् । कुल आचार्यको समाचारका बारेमा लामिछानेको गुनासो सिरोहियाले सुन्न नसकेनन् । सिरोहियाले तुरुन्तै अमेरिकामा रहेका सम्पादक वाग्लेलाई फोन गरेर आचार्यको समाचार हटाउन आदेश दिएका थिए ।
कुल आचार्य कुनै बेला लामिछानेको व्यवसायिक पार्टनर थिए । त्यती बेला देखीनै आचार्य र लामिछानेको सम्बन्ध बिग्रेको बताउनेहरु यूरोपमा धेरै छन् । दुवैमा इगो प्रोब्लम छ, लामिछाने कुललाई निर्वाचनमा हराउने रणनीति बनाइरहेका छन् । यता कुल आचार्य भने लामिछानेबाहेक सबै पूर्वअध्यक्षको सहयोग लिएर चुनाव जितेर देखाइदिने दाउमा छन् ।






