समाचार लेखेकै आधारमा एन आर एन पोर्चुगलका प्रवक्ताद्वारा पत्रकार र वालकमाथि हमला
कुरो १३ अगष्ट २०१७ को हो । पुर्व घोषित तालिका अनुसार डा. गोविन्द केसीको समर्थनमा कसरी ऐक्यबद्धता जनाउन सकिन्छ, अनि नेपालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर भनेर १०-१२ जना साथीहरु अलमेदा पार्क लिस्बोन, पोर्तुगलमा जम्मा भएका थियौं । त्यहाँ हाम्रो छलफल पश्चात् करिब ७ बजेतिर सबै आ-आफ्ना काम र घरतिर लाग्यौं। म मेरो सानो छोरा “युरेक पाण्डेय “संग “कोलोम्बो मल ” मा सपिङ्ग गर्न गएँ । सपिङ्ग मलभित्र पुगेपछि एन आर एन ए पोर्तुगलका प्रवक्ता हेमराज सुबेदीले आफ्नो खुट्टाको जुत्ता फुकालेर हातले समाती म माथिव्र्साए । उनले सिधै तथानाम गालि गर्दै ” तँलाई जहाँ देख्यो, तेही मार्छु ” भन्दै धाक धम्कि दिए । सपिङ्ग मल ब्यस्त थियो । भिडभाडका मान्छेहरु अचम्मित भए । तिनले मलाई हिर्काउँदै गए । म पछि सर्दै गएँ । किन कि मेरो साथमा हिजो मात्रै ४ बर्षको जन्मदिन मनाएको कान्छो छोरो र एउटा ठुलो झोला थियो । मैले सुबेदीसँग बिन्ति पनि गरे “हेम जी, म सँग अहिले चार बर्षको सानो बच्चा छ । कृपया एक्लै भएको बेलमा जे गरे गर्नुस वा तपाइले बोलाएको ठाउँमा आउँछु । “तर उनी मेरो कुरा सुन्न मन्जुर भएनन् । लगातार गालीगलौच गर्दै मलाई हिर्काउने र लछारपछार गर्ने कोशिस गरिरहे । मान्छेहरुको भिड बढेपछि उनि त्यहाँबाट अगाडी बढे । अलि अगाडी गएर रोकिएका सुबेदी म माथि फेरी जाईलागे । यसपटक हातमा समातेको जुत्ता लगाएर मुक्का र लातले प्रहार गर्नथाले । साथै गालीगलौच र ज्यानमार्ने धम्कि पनि दिए ।
मैले तिनलाई अनुरोध पनि गरें, म संग सानो बच्चा भएकोले यसो नगर्न । तिनको जवाफ थियो – ” तँ मा ++++ लाई अब जहाँ पायो त्यहि मार्छु म । मलाई अब केहि बाल छैन ।” कुरासामान्य छ, तिनको नेपालीहरुलाई ठगि गर्ने, सोसियल खरिद बिक्रि गर्ने र नेपालबाट मान्छे युरोप ल्याउने गर्दै पैसा खाएको र इजिप्टको नक्कली भिसा नेपाल पठाएको मैले समाचार लेखेको थिएँ । तिनका दाई श्याम सुबेदीले पनि पहिले मेरो भाईको चरित्र हत्या गरिस भन्दै मेरो काम गर्ने ठाउमा पिट्न आएका थिए पहिले। सायद त्यहि समाचारको रिस हुनुपर्छ । वरिपरिका मान्छेहरुको भागाभाग भयो । आइतबार भएकोले सपिङ्ग मल ब्यस्त पनि थियो । मेरो छाती र कन्चटमा मुक्का पनि लाग्यो । अनि तिनले मलाई लाचारपचार पनि गरे । जब मैले मेरो झोलामा भएको सानो क्यामेरा निकालें त्यसपछि तिनी भागे ।
आफ्नो पेशागत र सामाजिक गर्यादाले गर्दा पनि म सुबेदीले झैँ निच स्तरको गाली गर्ने र हात छोड्ने काम गर्न सक्दिन । मैले कन्चट, छाती र पिठ्युमा पिटाई खाएँ । कयौ पटक लछारपछार पनि भईयो । मैले ठुलो स्वरमा कराएर सहयोग माग्दा र पुलिस भनेर गुहार माग्दै गर्दा मेरो झोलामा भएको सानो गोप्रो क्यामेरा निकालें र यतिकैमा सुबेदी फरार भएका थिए । यसै क्रममा ४ बर्षको मेरो सानो छोरोलाई पनि चोट लागेको रहेछ । त्यसपछि त्यहाँ पुलिस आएँ र हामीलाई थप बयानको लागि त्यही सपिङ्ग मलमा भएको पुलिस चौकीमा लगियो जहाँ हाम्रो उजुरी लेखियो।
एन आर एन ए का साथीहरुबाट भएको पहिलो घटना भने पक्कै पनि होइन । त्यस्तै प्रवक्ता हेमराज सुबेदीको ज्यादती र गुन्डागर्दीको यो पहिलो घटना होइन । बारम्बार विभिन्न स्क्यान्डल र अपराधमा संलग्न रहने सुबेदीले यसपाली आफ्नो ज्यादतिको सिमा नै नाघे । सुबेदीले मलाई पहिले पनि धेरै पटक मेरो यही बच्चालाई स्कुल पुर्याउँदा र ल्याउदा बाटो छेक्ने र धाकधम्की दिने काम गरेका थिए । एन आर एन ए को प्रवक्ता पदको फाइदा उठाउँदै विभिन्न गैर कानुनी र अपराधिक कार्यमा संलग्न सुबेदीको बारेमा धेरै पटक समाचार मैले पनि लेखेको थिए, जस्तै पोर्तुगलमा नया आउने नेपालीहरुलाई ठगि गर्ने, सोसियलको गैर कानुनी खरिदबिक्रि गर्ने नारीमाथिको मानसिक, आर्थिक तथा यौन शोसण , र पछिल्लो समयमा मानब तस्करी तथा नक्कली भिसामा संलग्नताआदि बारे लेखेको थिएँ । यिनको सामाजिक संजालमा बोल्ने भाषा यति धेरै निच, घटिया र तल्लो स्तरको छ कि कल्पना गरि साध्य छैन । यिनले सामाजिक संजालमा मेरो परिवार, श्रीमती र छोराको बारेमा लेखेको कुरा यति घटिया र अपशब्द थियो कि पोर्तुगलको नेपाली समाजलाई भनिरहनु पर्दैन ।
समाचार लेखेकै भरमा ठिक एक बर्ष पहिले यिनका दाई श्याम सुबेदीले आफ्ना भाई प्रवक्ता हेम सुबेदीको मानहानी भएको भन्दै र एन आर एन ए पोर्तुगलका उपाध्यक्ष सुनिल श्रेष्ठ “संगम” एन आर एन ए पोर्तुगलको आर्थिक अनियमितताको समाचार किन लेखेको भन्दै २ -२ पटक मेरो काम गर्ने ठाउँमा मध्यराति आएर गालीगलौच गरेका थिए । उनले धाक धम्कि, ज्यान मार्ने धम्कि र आफ्ना भरौटे गुन्डाहरु बोलाएर हातपात गर्न लगाएको घटना पोर्तुगलवासी नेपालीहरुमाझ अझै पनि ताजै छ ।
आइतबारको दिन भएको सांघातिक हमलामा परी चोटपटक लागेको मेरो छोरोको बायाँ हात सामान्य सुन्निएको थियो । डाक्टरको बरफले सेक्ने सल्लाह दिएपछि त्यसो गर्दा हात सोमबार बेलुकासम्म झनै सुन्नियो । मंगलबारको बिहानै फेरी अस्पताल गईयो र सुन्निएको असामान्य भन्दै डाक्टरले एक्सरे गरे । त्यसपछि हातमा समस्या देखिएपछि प्लास्टर गरियो र अब कम्तिमा २ हप्ता प्लास्टर राख्नुपर्ने भयो । त्यो त्रासले एउटा अबोध बालकमा परेको मनोबैज्ञानिक असर र शारीरिक पीडाको जिम्मेवार कसले लिने ? अहिले मेरो ४ बर्षे छोरोले आफ्नो आमालाई बारम्बार सोधिरहेछ ” मामु , पापलाई अंकलले किन पिट्नुभएको ? ” यो प्रश्नको जवाफ के दिने हामीले अब ?
दशौ पटक गल्ती गर्दा पनि आफ्ना प्रवक्तालाई कारवाही नगर्ने एन आर एन ए पोर्तुगल र यस्ता गलत काम गर्नेलाई सधै पश्रय दिने अध्यक्ष भिम केसी ले यो घटनाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? एन आर एन ए पोर्तुगललाई कहिलेसम्म गुण्डाहरुको भर्तीकेन्द्र बनाएर राख्ने ? सम्पूर्ण नेपालीहरुको साझा संगठन भएपछि सबै नेपालीहरुको पिरमार्का बुझ्नुपर्छ र सुन्नुपर्छ कि पर्दैन ? यस्तै २-४ जना व्यक्तिहरुले गर्दा नै एन आर एन ए को साख गिरेको छ । आम नेपालीको बिश्वास गुमेको छ । एन आर एन ए आइ सी सी को यसतर्फ बेलैमा ध्यान जाओस् ।
एन आर एन ए पोर्तुगल र एन आर एन ए आइ सी सी ले यो घटनाको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? घटना भएको ३ दिन भईसक्दा पनि एन आर एन ए पोर्तुगलले पिडितहरुसंग सम्पर्क नगर्नुले एन आर एन ए पोर्तुगल र अध्यक्ष भिम केसीको ज्यादती र बदमासी छताछुल्ल भएको छ । एउटा आम नागरिकले युरोपजस्तो ठाउँमा पनि स्वतन्त्र भएर बाँच्न पाउने कि नपाउने ? अध्यक्ष भिम केसीले एन जना एन आर एन ए अभियन्तालाई मध्यरातमा फोन गरेर ” गणेश पाण्डेयलाई म कुटाउछु भनेको अडियो रेकर्ड पनि सुरक्षित छ । त्यसलाई अदालतमा पेश गरिनेछ र ति एन आर एन ए अभियन्ता अदालतमा यो कुरा बोल्न राजि भएका छन् । समाजसेवामा यस्तो ज्यादती र गुन्डागर्दी कहिलेसम्म ? यस्ता घटनातर्फ एन आर एन ए आ इसिसिको ध्यान कहिले जाने?
कारवाही गर्नुपर्ने ठाउँमा प्रवक्ता सुबेदीलाई राजिनिमा दिन लगाएर पनि ४-५ महिनासम्म स्वीकृत नगरेर अध्यक्ष र संस्थाले गल्तिहरु ढाकछोप गरेकै हो । अध्यक्ष भिम केसी संग मेरो कुरा हुँदा मैले सोधेको थिएँ, “के हो दाई , किन स्वीकृत भएन अहिले सम्म” भनेर । उनको जवाफ थियो ” ३ महिना जति भयो मिटिंग बस्न सकेको छैन । त्यसपछि मैले ” तपाँहरु बचाऊ गर्दै हुनुहुन्छ । अब २-३ महिना छ यो कार्यसमितिको । त्यसपछि कारवाही गरेको रेकर्ड पनि नहुने । राजिनामा पनि स्वीकृत नगर्ने । अनि कार्यकाल पनि पुरा भयो होइन त ? “आईडिया राम्रो छ” भन्दा मुसुक्क हाँसेर “त्यस्तै भन्नु पर्यो ” भन्नु भएको थियो ।
राजिनमा पत्रमा न दर्ता नम्बर छ न स्वीकृत भएको कुरा उल्लेख छ । आफु बच्ने खेलको प्रपन्च रचिँदैछ । फेरि प्रवक्ता सुबेदीको राजिनामा पत्रको बारेमा संस्थाले अहिले सम्म बोलेको छैन ।
बिगतमा भएका यस्तै प्रवृत्तिका गहतानाहरुको साक्षी एन आर एन युरोप संयोजक कुल आचार्य पनि हुनुहुन्छ । यो त अब हदै भयो । एन आर एन ए अभियन्तहरुबाटनै आम सर्वसाधारण दिनदहाडै कुटिने भए । अब कसरी एन आर एन ए लाई सामाजिक संस्था को उपमा दिनु ? कसरी यिनीहरुलाई सामाजिक वा एन आर एन ए अभियन्ता भन्नु ?
अन्तमा , यी सम्पुर्ण घटनाक्रमहरुको जिम्मेवारी एन आर एन ए पोर्तुगल रएन आर एन ए एन सिसि ले लिनुपर्छ।
मेरो पोर्तुगल बसाईको यो अन्तिम न्यायिक लडाई हुनेछ । धेरै पटक एन आर एन संग अनुरोध पनि गरियो । तर कसैले पनि कुरा सुन्ने र बुझ्ने चेष्टा नै गरेनन् । अब हामी कानुनको साहारा लिन बाध्य भएका छौं । हामी सपरिवार स्वतन्त्रपुर्बक बाच्न र काम गर्न पाउने सुनिस्चितता लागि अनुरोध गर्दछौ।
धन्यवाद ,
गणेश पाण्डेय
सम्झना अधिकारी
युरेश पाण्डेय
युरेक पाण्डेय






