काठमडौं- अविरल वर्षापछिको बाढी पहिरोले देशभर भौतिक र मानवीय क्षति भएको छ । पानीले सयौं गाउँहरु डुबेका छन् भने आधा दर्जन भन्दा बढीको मृत्यु भएको छ ।
पाल्पामा तीन जनाको मृत्यु
पाल्पाको गोठादी गाविस–५ दमारमा पहिराले घर पुरिँदा राति निदाइरहेका एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माथा प्रहरी चौकीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएका छन् ।
लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ । जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिराले घर पुरिँदा यसअघि अस्मिता विकको मृत्यु भएको थियो ।
बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा
सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।
पहिरोले घर पुरिँदा बालिकाको मृत्यु
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् ।
सत्र सय घर डुबानमा, एकको मृत्यु – एक बेपत्ता
केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।
गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पूर्व झापा जाँदै गरेको बा ५६ प ६६६४ नम्बरको मोटरसाइकललाई झापाबाट काठमाडौँतिर जाँदै गरेको मे १ ख २०४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि यात्रारत गुल्मी घर भई बानेश्वरमा बस्दै आएका २० वर्षीय हिमाल खत्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
गुल्मीमा पहिरोले पुरिएर पाँचको मृत्यु
तम्घास (गुल्मी), ११ साउन । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ ।
पहिरोले एकै परिवारका तीनको मृत्यु
मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्युठानमा चार शव फेला, दुई बेपत्ता
प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ ।
पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।
यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।
चारजना बेपत्तामध्ये योगीको शव भेटियो
कमला नदीको बाढीमा बगेर मृत्यु भएका एक जनाको शव सिरहा प्रहरीले फेला पारेको छ ।
कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा सोमबार साँझ फेला पारेको हो ।
साउने सोमबारको अवसरमा मेला भर्न आइतबार साँझ सिरहाको उत्तरायणी जाने बेलामा योगीसहित महोत्तरीका चारजना युवा धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदीमा बगेका थिए । अन्य तीनजना भने वेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ ।






