आसाममा हजारौँ गाउँले घर छोडी भागेका छन्

उत्तरपूर्वी भारतीय राज्य आसामको एक दुर्गम इलाकामा मङ्गलबार राति सशस्त्र हतियारधारीहरूले भिषण आक्रमण गरेपछि दुई हजारभन्दा बढी गाउँहरू घर छोडी भागेका छन् । गत मङ्गलबार अबेर राति भएको सो आक्रमणमा परी कम्तीमा पनि ६९ गाउँलेको हत्या भएको थियो । आतङ्ककारी प्रकृतिका ती हतियारधारीले मङ्गलबार राति गाउँलेलाई घरबाट निकालेर सडकमा ल्याई हत्या गरेका थिए ।
आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६९ पुगेको प्रहरीले बिहीबार बिहान जानकारी दिएको छ । यस आक्रमणबाट ज्यान गुमाउने ज्यक्तिहरूमा १८ बालबालिका रहेका पनि सो स्रोतले जनाएको छ । सो आक्रमणमा अन्य ८० जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । आसामको सधैँ अशान्त भइरहने इलाकामा मङ्गलबार अबेर राति भएको सशस्त्र हतियारधारीहरूले आफ्नो घरमा सुतिरहेका गाउँलेलाई तानेर ल्याएर गोली हानी हत्या गरेका प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।
प्रहरीका अनुसार यस आक्रमणमा नेसनल डेमोक्र्याटिक फ्रन्ट अफ बोडोल्यान्ड (एनडिएफबी)को हात रहेको दाबी गरिएको छ । एनडिएफबीले दशकौँदेखि आसामलाई अलग र स्वायत्त राज्यको माग गर्दै आन्दोलन जारी राखेको छ । उनीहरूको सो सशस्त्र विद्रोहका कारण उक्त राज्यमा हजारौँ नागरिकको ज्यान गएको छ ।