नेपालमा बाढीपहिरोको वितण्डाः सिन्धुपाल्चोकमा कम्तीमा सातको मृत्यु, दर्जनौँ विस्थापित

सिन्धुपाल्चोक । मंगलवार परेको बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी र पहिरोको कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो क्षती पुगेको बताए ।

बाढी र पहिरोका बाट भएको क्षती बारे भने विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगाएको छ राति करिब पौने २ बजेको समयमा उक्त पुल बाढीले बगाएको बताईएको छ ।

त्यस्तै ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । यो संगै बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, आमा ह्योल्मो बसपार्क, सिटि पार्क मा क्षती पुगेको स्थानीयले जनाएका छन् । मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानीय सिपी दुलालले बताए ।

बाढी पसेपछी मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन् । घर ढुवानमा परेपछी मेलम्चीवासी नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसमा बसेका हुन् ।

मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यसैबिच हिजोको परेको पानीका कारण मनाङ,मुस्ताङ,म्याग्दी,कास्की,पाल्पा,अछाम लगायतका जिल्लामा पनि बाढी र पहिरोबाट क्षती भएको छ । त्यस्तै वर्षाले नारायणी नदीको बहाब उच्च भएपछी गण्डक व्यारेजका सबै ढोका खोलिएको छ ।