काठमाण्डाै २६ असाेज । एमालेका उपमहासचिब विष्णु पौडेललाई प्रधानमन्त्री ओलीले संसद्बाट प्रधानमन्त्री चयन हुनासाथ अर्थमन्त्रीको जिम्मेवारी लिनुपर्ने जानकारी दिए पनि सोमबार अपराह्न भएको शपथमा लैजान नसक्नुको कारण पार्टीभित्रको आन्तरिक विवाद नै रहेको जानकारी एक नेताले दिए।पौडेलले ओलीपछिको दोस्रो बरियतामा आफूलाई राख्नु पर्ने अडानले गर्दा सोमबार शपथ रोकिए पनि दुईतीन दिनभित्र विस्तार हुने मन्त्रिपरिषद्मा उनी सहभागी हुने पक्का भएको जानकारी स्रोतले दियो। पौडेलले मन्त्रिपरिषद् गठनमा एमालेभित्र कुनै विवाद नभएको बताए।
पार्टीका उपाध्यक्ष भीमबहादुर रावलले आफूलाई गृह र परराष्ट्रमध्ये एक चाहिने अडान राखेका थिए । रावलले यी दुईबाहेक अन्य मन्त्रालयको जिम्मेवारी लिन नसक्ने जानकारी ओलीलाई दिएको दाबी स्रोतले गर्यो।
गृह एमाओवादी र परराष्ट्र राप्रपा नेपालको भागमा परेको हुँदा रावल स्वतः बाहिरिने स्रोतको दाबी छ। एमाले उपाध्यक्ष वामदेव गौतमले आफू आगामी दिनमा अध्यक्ष ओली निकट रहँदै पार्टीसमक्ष आउने कुनै पनि जिम्मेवारी पूरा गर्न तयार रहेको बताए।
उनले भने, ‘म सरकारमा भन्दा पार्टीमा रहेर काम गर्नेछु।’ एमालेका एक नेताले मन्त्रिपरिषद् विभाजनका कारण देखिएको विवादको अन्त्य गराउन मंगलबार स्थायी समितिको बैठक बोलाइएको बताए।






