लन्डन । भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की रसमोर बरोको वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार छनोट भएका छन् । रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार छानिने उनी पहिलो नेपाली हुन् ।
बेलायतमा आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि अल्डरसट लेबर ब्रान्चले गत १९ अक्टोबर बुधबार बेलुका सार्कीलाई छनोट प्रक्रियामार्फत चुनेको हो ।
सार्की लेबर पार्टीमा विगत ४ वर्षदेखि आवद्ध छन् ।
सार्कीसहित रसमोरको रोहिल वार्डबाट हलेह कोहेस्तानी, अल्डरसट पार्क वार्डबाट सोफी पोर्टर, नर्थटाउन वार्डबाट गेनर अस्टिन र म्यानोर पार्क वार्डबाट बेकी विलियम्स उम्मेदवार छानिएका छन् ।
नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष सार्की एनआरएनए यूकेमा सदस्य निर्वाचित भएका थिए ।
लामो समयदेखि एनआरएनए अभियानमा सामेल उनी एनआरएनए यूके उपाध्यक्षमा पराजय भोगेपछि बेलायतको स्थानीय राजनीति र व्यवसायमा बढी सक्रिय भएका थिए ।
सार्कीले आफ्नो चुनावी अभियानमा नेपाली समुदायबाट सक्दो सहयोग पाउने आशा व्यक्त गरेका छन् । ‘म यसअघि पनि नेपाली समुदायमा समाजसेवामै तल्लीन थिए ।
राजनीतिमार्फत समुदायकै सेवाका लागि आफ्नो उम्मेदवारी भएको सार्कीले लण्डन नेपाल न्युजसंग बताए ।







