तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी गाला डिनरमा सहभागी हुन नेपालबाट कुलमान घिसिङ, श्वेता खड्का र सविता उप्रेती सिड्नी आउने भएका छन् । एनआरएन अस्ट्रेलियाले हिजो आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष नन्द गुरुङले भने, ‘एनआरएन अष्ट्रेलिया समाज कल्याण कोषको सहयोगार्थ आयोजना गरिएको गाला डिनरबाट संकलित रकम अटिजम भएका बालबालिकाका लागि सञ्चालित विद्यालय र पुनस्र्थापना सुधार केन्द्रमा खर्च गरिनेछ । एनआरएनका धेरै सफल कार्यक्रम मध्ये यो पनि एक हो ।’
नेपाल फेस्टिबललगायत दर्जनौं काल्याणकारी काम गरेर चर्चामा रहेको एनआरएनए अष्टेलियाको कार्यसमितिले आयोजना गर्ने यो अन्तिम सामाजिक कार्यक्रम भएको पत्रकार सम्मेलनमा बताइयो ।
कार्यक्रममा न्यूसाउद वेल्सका उपसंयोजक अर्जुन केसीले स्वागत मन्तव्य राखेका थिए । उनले सहयोग गर्न अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि सुवर्ण अवसर भएको बताए । एनआरएन अस्ट्रेलियाका सचिव देव गुरुङले कोषमा संकलित रकम ५० हजारभन्दा कम भएकाले नयाँ कार्यक्रम आयोजना गर्नुपरेको बताए । गाला डिनर कार्यक्रमका उपसंयोजक दिपक पहारीले नेपालबाट आउने मुख्य अतिथि र अतिथिले नेपाल र नेपालीलाई पु-याएको योगदानबारे सहभागीलाई विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रमलाई बाबा एजुकेशन र आरकेएसले प्रायोजन गरेका छन् । मुख्य गाला डिनरजस्तो कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रायोजक बाबा एजुकेशनका निर्देशक रविन्द्रकुमार शर्माले बताए । उनले भने, ‘जुन समुदायबाट प्राप्त पैसा हो, त्यही समुदायलाई फिर्ता गर्न पाउँदा हामी हर्षित छौं ।’
मे २६ आइतबार आयोजना हुने उक्त कार्यक्रम इन्द्रेणी फङसन सेन्टरमा साँझ ६ बजे हुनेछ । नेपालमा लोडसेडिङ हटाएर अर्बौ रुपैयाँ वचत गर्ने उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ, माझी बस्तीकी अभियान्ता श्वेता खड्का र अटिजम भएका बालबालिकाका लागि स्कुल सञ्चालन गरेकी सविता उपे्रतीसँग गाला डिनरमा साक्षतकार गर्न पाइने कार्यक्रम संयोजक सन्ध्या शाहले जानकारी दिइन्। कार्यक्रम मा ICC पूर्व स्पोकेस्पर्सन रन्जु वाग्ले थापा को पनि उपस्थिती थियो ।

उज्यालो अभियान्ता घिसिङको यो दोस्रो अष्टेलिया भ्रमण हो । उनीसँग भेट गर्नका लागि पनि रात्रिभोजमा सहभागी हुन एनआरएन उपाध्यक्ष गुरुङले नेपाली समुदायसँग अपिल गरेका छन् । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत्धिकरणका महाप्रबन्धक कुलमान घिसिङ, माझीबस्तीका अभियन्ता, नायिका श्वेता खड्का र एसएसडीआरसीकी अध्यक्ष सबिता उप्रेतीको सहभागितामा रात्रिभोजको आयोजना हुनेछ । उक्त कोषमा संकलित रकम नेपालमा असक्त पुनस्र्थापनाका लागि खर्च गरिने एनआरएनए अष्ट्रेलियाले जनाएका छन् ।
माझी बस्तीकी अभियन्त श्वेता विरामी भएर यतिबेला भारतको दिल्लीमा उपचार गराइरहेकी छन् । श्वेता पूर्णस्वास्थ्य भएर कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आइपुग्ने कार्यक्रम आयोजकमध्येकी एक सन्ध्या शाहले जानकारी दिएकी छन् । दोस्रो जीवन पाएकी श्वेतासँग भेटगर्न पनि उक्त रात्रिभोज फलदायी हुने बताइएको छ ।
अटिजम भएका बालबालिकाको संरक्षणमा सविता उपे्रती होमिएकी छन् । त्यस्ता फरक क्षमता भएका बालबालिकाका लागि उनले भक्तपुरमा स्कुल सञ्चालन गरेकी छन् । अटिजम रोग लागेका बालबालिका कस्ता हुन्छन्, उनीहरुलाई कस्तो शिक्षा आवश्यक पर्छ भन्ने जान्नका लागि पनि उक्त रात्रिभोज महत्वपूर्ण हुने आयोजकहरुले जनाएका छन् ।






