को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

Number 10 Downing Street is the headquarters and London residence of the Prime Minister of the United Kingdom.

लण्डन। प्रधानमन्त्री लिज ट्रसको सरकार ४५ दिनमै ढलेपछि बेलायतमा नयाँ सरकार बन्ने भएको छ। ट्रसले बिहीबार पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनको सरकारले मिनी बजेटमार्फत् ल्याएका आर्थिक नीतिको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि ट्रस राजीनामा दिन बाध्य भएकी हुन्।

राजीनामासँगै उनी बेलायतमा सबैभन्दा छोटो समय प्रधानमन्त्री हुने व्यक्ति बनेकी छन्। उनको ठाउँमा अब को प्रधानमन्त्री हुन्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।

बेलायतको तल्लो सदन हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको बहुमत छ। सन् २०१९ मा भएको आमचुनावमा ६५० मध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेको छ।

संसदमा पार्टीको एकल बहुमत भएकाले अबको प्रधानमन्त्री पनि कन्जरभेटिभ पार्टीकै सांसद हुने छन्। प्रधानमन्त्री बन्नका लागि पहिला पार्टीको नेता चुनिनु पर्नेछ।

विपक्षीहरूले चुनावपछि दुईटा प्रधानमन्त्रीले राजीनामा दिइसकेकाले नयाँ चुनाव गर्नुपर्ने बताए पनि बहुमत गुम्ने डरले कन्जरभेटिभ पार्टी अहिले नै संसदीय चुनावको पक्षमा छैन।

बोरिस जोन्सनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीले हप्तौं लगाएर आफ्नो नेता छानेको थियो। अन्तिम प्रतिष्पर्धामा सांसद ऋषि सुनकलाई हराएर ट्रस कन्जरभेटिभ पार्टीको नेता चुनिएकी थिइन्।

बीबीसीका अनुसार अब भने कन्जरभेटिभ पार्टीले एक साताभित्रै आफ्नो नेता छान्ने तयारी गरिरहेको छ।

पार्टी नेताका लागि उम्मेदवारी दिन नै एक सय जना सांसदको साथ चाहिने र पार्टीका सदस्यले पनि अनलाइनमार्फत् भोट दिने व्यवस्था मिलाएर आउने शुक्रबारसम्म नयाँ नेता चुन्ने तयारी भइरहेको छ।

कन्जरभेटिभको नयाँ नेता चुनिएर बेलायतको प्रधानमन्त्री बन्ने दौडमा ऋषि सुनक र पेनी मोर्डन्डबीच प्रतिष्पर्धा हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ। उनीहरू दुबै जना ट्रससँग पनि पार्टी नेता बन्ने प्रतिस्पर्धामा थिए।

पूर्वप्रधानमन्त्री बोरिस जोन्सन पनि फेरि कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा सामेल हुन सक्ने बेलायती सञ्चारमाध्यमहरूले अनुमान गरेका छन्।

बुधबार मात्र ट्रस सरकारको गृह मन्त्रीबाट राजीनामा दिएकी सांसद सुयला ब्रेभरम्यान पनि उम्मेदवार बन्ने सम्भावना छ। शुक्रबार बिहानसम्म कुनै पनि सांसदले आफू नेता बन्ने दौडमा सामेल हुनेबारे औपचारिक घोषणा गरेका छैनन्।