माधब रेग्मी, एबर्डिन
जहाँ नेपाली छन् त्यहाँ नेपाल छ। तेसैले भनिएको होला जसो गरुं जहाँ जाऊं यो मन त मेरो नेपाली हो। ‘जन्मले ब्यक्तिको स्वभाव र कर्मले ब्यक्तिको स्वभाव’ यी दुई पृष्ठभूमिवाट हाम्रा संततिहरुले आफ्नो स्वभाव र संस्कार निर्माण गरेका हुन्छन्। जन्मले हामी नेपाली हौं कर्मले पनि हामी नेपाली हौं तर कहिलेकाहीँ यस्तो लाग्छ हाम्रा सन्ततिहरु कतै जन्म र कर्म दुबैको स्वभावबाट नेपाली हुन नसक्ने त हैनन् यही चिंताले सतायको हुन्छ,
प्राय बिदेशमा जन्मने र हुर्कने हाम्रा नानिबावूहरुको बारेमा बिदेशमा बस्ने प्राय नेपाली अभिभावकहरुलाई। संसार साँघुरियको छ। हरेक कुनामा अब नेपाली पुगेको छैन भन्ने दिन कुर्नु पर्दैन। तर चिन्ता छ त केवल नेपाली भाषा, संस्कार र परम्परामा हामी हाम्रा नानिबावूहरुलाई कत्तिको हुर्काऊन सक्छौं। प्राय अभिभावकहरुमा पाइने चिंता भनेकै यही हो। यही चिंतालाइ हटाउन बिदेश स्थित केहि नेपाली संघसंथाहरुले बिभिन्न तरीकाबाट आफ्ना नानिबावूहरुका लागि नेपाली भाषा शिक्षाको पढाई संचालन गरेका हुन्छन्। कति यस बिषयमा सफल छन कति छैनन् यो छुट्टै बहसको बिषय हुनसक्छ। तर यहाँ एउटा सफल नेपाली भाषा शिक्षा एबं नेपाली ज्ञानको बारेमा गत वर्षदेखि सञ्चालन गरेको कार्यक्रमको बारेमा चर्चा गर्न खोजियको हो। 
समय कति छिटो बितेछ। अस्ति जस्तो लाग्छ एबरडीन सिटी काउन्सिलसंग उस्को बिद्यालय भवन नेपलीज हिमालयन एसोसिएशनले पाक्षिकरूपमा नेपाली भाषा कक्षा सञ्चालनका लागि भाडामा लिएको। एकबर्ष पूरा भैसकेछ। हरेक १५ दिनको आइतवार कक्षा संचालन हुने गर्छ। एबर्डिनमा बसोवासगर्ने नेपाली समुदायका ६४ जना नानिबावूहरुले यो भाषा शिक्षणवाट फाईदा लिएका छन्। यसपटकको आइतवार संस्थाले एक वर्ष पूरा गरेकोमा शुभकामना कार्यक्रम राखेको थियो। सुरुमा १० देखि १६ बर्षसम्मकाका लागि भनेर शुरू गरियको कार्यक्रम अभिभावकहरुको बढ्दो मागलाई सम्बोधन गर्न ४ बर्ष देखिका नानिबावूहरु पनि कार्यक्रममा समावेस हुन थाले। यसले माथि सुरुमै उल्लेख गरिए जस्तै जन्म र कर्मगत आवश्यकता पूरा गरेको देखिन्छ।
साना नानिहरु जस्ले क ख १ २ जानेकै छैनन् उनिहरुको आवश्यकता पूरा भयको थियो भने अर्को जो सामान्य नेपाली पढ्न र लेख्न बिर्सिसकेका थिय अनि बिस्तारै बेलायति समाजका संकारमा अभ्यस्त भैकेका छन् उनिहरुकालागि हाम्रो संस्कार र परम्परा रीतिरिवाज चाडपर्वका बारेमा जान्ने पढ्ने मौका पाए। यस्तो मौका जुटाइदियको छ एबरडीनवासी नेपाली हरुकालागि नेपालीहरुको साझा संस्था नेपलीज हिमालयन एसोसिएशन स्कॉटलैंडले। भाडामा लीएको कक्षा कोठा, बिद्यार्थी हरुको लागि आवश्यक पर्ने शैक्षिक सामग्रिको जोहो, बेलाबेलामा गरिने बिभिन्न कार्यक्रमका खर्चहरु संस्थाका सदस्यहरुवाट मासिक रुपमा उठाईने लेवी, गत तीन बर्षदेखि संस्थागत रुपमा खेलिने देउसी भैलोमा प्राप्त हुने दान दक्षिणा यस्तै संस्थाका आमदानिका श्रोतवाट संस्थाले बेहोर्दै आएको छ। गत आईतवार भाषा कक्षा संचालनको एक बर्ष पुरा भएको अवसरलाई शुभकामना कार्यक्रम गरी मनायो। त्यस अवसरमा संस्थाका सभापति टक बहादुर थापाले संस्थाको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो। सिटी कॉउंसिलसंग दुई बर्षका लागि बिद्यालयको कक्षाकोठा भाडामा लिने संझौताको स्मरण गर्दै गएको एकवर्षमा नानिवाबुहरुवाट सिकाईमा प्राप्त नतीजा देख्दा यो कार्यक्रमलाई निरंतरता दिनका लागि संस्थाका अन्य पदाधिकारी साथीहरुसंग परामर्श गर्ने कुरा पनिब्यक्त गर्नुभयो। शुभकामना ब्यक्त गर्न एबरडीनमा बस्ने नेपालीहरुको तर्फवाट प्रतिनिधित्व गर्दै अभिभावक डा. सोहन घिमिरेले बेलायतमा धेरै ठाउँमा धेरै संस्थाहरुले यस्तै किसिमको भाषा एबं संस्कृति सम्बन्धीकक्षाहरु संचालन गरेको देखिएको तर निरंतरता कमैले मात्र दिनेगरेकाले यससंस्थाले संचालन गरेको कार्यक्रम दिगौ र नेपाली नानिबावूहरुका लागि जीवनोपयोगी भयको आफुले पाएको भन्दै संस्थाको प्रशंशा गर्नुभएको थियो। यस्तै अर्का। अभिभावक राजेन्द्र उप्रेतिले पनि संस्थालेसंचालन गरेको कार्यक्रमको सह्राहना गर्नुभएको थियो। बिभिन्न बर्ष समूहमा राखी सञ्चालन भयको भाषा कक्षाका बिद्यार्थि हरुले पनि कार्यक्रमको प्रशंशा गरेका थिय। साना नानिहरुको बर्ष समुह प्राथमिक तहवाट आयुष जी सीले यस्तो कक्षा सञ्चालन गरेर हामी जस्तो क ख नजान्नेले पनि एक बर्षमा पत्रपत्रिका पढ्न र नेपाली लेख्न सक्ने भयौं भन्दै फुरङ्ग भयका थिय। यसै गरी निम्न माध्यमिक तहको बर्ष समूहवाट आद्या रेग्मीले बिदेशमा सबै सधैं बसिन्छ भन्ने ठेगान हुँदैन अनि आफ्नो देशमा फर्कन पर्ने साथीहरुको लागि नेपालको स्कूलमा नेपाली पढ्न गाह्रो नहुने भन्दै कार्यक्रमको प्रशंशा गरेकी थिईन्। माध्यमिक तहको बर्ष समुहवाट सामना तिवारी, कला-कीर्ति हुमागाईंले संस्थाले उनिहरुकालागि भाषा र संस्कृति सम्बन्धी कक्षा सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए। समाज बिभक्त छ यही बिभक्त समाजलाई एकत्र बनाउने काम गर्छ रास्ट्रीयताले। रास्ट्रीयताको प्राण भनेकै बिभिन्न संप्रदाय र समाजको संस्कृति र परम्परामा अडियको हुन्छ। मुलुकभित्र जस्को जे परिबेश भए पनि मुलुक छोडेर बिदेश बस्दा आफ्नोपन आफ्नो भाषा कला संस्कार र परम्पराको बढ़ी माया लाग्दो रहेछ। यस्तो बिचार ब्यक्त गर्नुभयो कार्यक्रममा सोमनाथ शर्मा मेमोरियल ट्रस्टकी अध्यक्ष सोमा घिमिरेले। ट्रस्टले नेपाली भाषा संरक्षण एबं सम्बर्धन संबंधी स्वदेश एबं बिदेशमा बिभिन्न कार्यक्रम गर्दै आएको छ। नेपाली भाषा एबं संस्कृतिको बार्षिक कार्यक्रमको अवशरमा नेपलीज हिमालयन एसोसिएशनले गरेको कामबाट ख़ुशी भई ट्रस्टकी अध्यक्ष घिमिरेले २०० पौंड (करीब ३० हजार नेपाली रुपियां) नगद संस्थालाई दान गर्नुभएको थियो। कार्यक्रम संचालन संस्थाका सहकोषाध्यक्ष बिजय सिग्देलले गर्नुभएको थियो।






