छ लाख ठगी गर्ने मिटर रिडर पक्राउ

उपभोक्ताबाट विद्युत् महसुल ठगी गर्ने एक मिटर रिडरलाई प्रहरीले पक्राउ गरेको छ । चिसापानीका उपभोक्ताबाट रु छ लाख ठगी गरेको आरोपमा चिसापानी वडा नं ७ का टङ्कमणि लुइँटेललाई विहार प्रहरीले पक्रेको हो ।
लुइँटेलले उपभोक्ताको तीन वर्षदेखिको मिटर रिडिङ गरेर नेपाल विद्युत् प्राधिकरण इलाम शाखामा नबुझाउने गरेको उपभोक्ताले थाहा पाएपछि उनीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्राधिकरणले विद्युत् महसुल सङ्कलनका लागि उनलाई त्यस क्षेत्रमा खटाएको थियो ।
उपभोक्ताबाट महसुल सङ्कलन गर्ने तर त्यो महसुल प्राधिकरणमा नबुझाउने गरेका थिए । त्यस क्षेत्रका २३ जना उपभोक्ताले महसुल नतिरेर लाइन काट्ने अवस्थामा पुगेपछि लुइँटेलले महसुल उठाएर नतिर्ने गरेको रहस्य खुलेको हो ।
महसुल ठगी गर्ने लुइँटेलविरुद्ध ठगी आरोपमा मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी प्रहरी निरीक्षक यामबहादुर पौडेलले दिनुभयो