लन्डन दूतावासमा भयो साहसिक पर्यटन प्रबद्र्धन कार्यक्रम
लन्डन– शिक्षामन्त्री धनीराम पौडेलले नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको बताएका छन् ।
बेलायत–नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षगाँठको अवसरमा सोमबार साँझ लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपाल अ डेस्टिनेसन फर एड्भेन्चर ट्राभल’ नामक कार्यक्रममा मन्त्री पौडेलले सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटक नेपाली गएको चर्चा गर्दै बेलायती राजकुमार हयारीको नेपाल भ्रमण पर्यटन प्रवद्र्धनमा कोसेढुंगा भएको धारणा राखे । अहिले विश्वव्यापी रुपमै साहसिक पर्यटन विकास भइरहेको उल्लेख गर्दै सचिव अधिकारीले लोन्ली प्लानेटले सन् २०१७ मा घुम्न लायक टप टेन देशमध्ये नेपाल उत्कृष्ट ५ औं भित्र परेको जानकारी दिए ।
लन्डनस्थित नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपाल साहसिक यात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।
दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल ट्रेकिङ, रयाफ्टिङ, स्काइ डाइभिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक यात्रा, रक क्लाइम्बिङ, अल्ट्रा लाइट एयर क्राफ्ट उडान जस्ता साहसिक पर्यटनका लागि उत्कृष्ट भएको चर्चा गरियो ।
कार्यक्रममा सन् १९९२ मा पहिलो पटक नेपाल पुगेका र बारम्बार नेपाल गएर त्यहाँको प्रकृतिलाई आफ्नो चित्रकलामा समावेश गरेका स्टेफेन जे किङले पनि नेपाल भ्रमण र लाङटाङ अनुभव बाँडे ।
नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मणिराज लामिछानेले दुईवटा बेग्लाबेग्लै साहसिक पर्यटन भिडियो प्रस्तुत गर्दै नेपाल साहसिक यात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा सुशील प्रजापति, आशिष श्रेष्ठ र आयुसा श्रेष्ठले लाखे र भैरव नाच प्रस्तुत गरे भने दिल तामाङले नेपाली ठिटो‘बोलको गीतमा आकर्षक नृत्य देखाए ।






