बेलायतमा स्वास्थ्य चेतना जगाउन कार्यक्रम सम्पन्न

 

शिब भण्डारी

लण्डन नेपाल न्युज डट कम:

लन्डन । नेपलिज हार्ट फाउण्डेशन यूकेको अगुवाइमा लन्डनमा एउटा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपलिज डक्टर्स एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके र नेपलिज नर्सिंग एसोसिएसन यूकेको सहकार्यमा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा कार्यक्रम भएको हो । कार्यक्रममा कोरोनरी हार्ट डिजिज्बारे कार्डियोलोजिष्ट डा. अच्युत धितालले प्रिजेन्टेशन दिए भने फाउण्डेशन अध्यक्ष विकलचन्द्र आयार्चले हृदयघातबारे प्रकाश पारे ।Norse


नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. अरुणकुमार झाले डिमेन्सिया र स्टोकबारे एवं नेपलिज नर्सिंग एसोसिएसन यूकेकी अध्यक्ष सुशिला कार्कीले कार्डियोपल्मोनरी रिस्यूसिटेशन (सिपिआर) बारे प्रिजेन्टेशन दिए । नेपलिज नर्सिंग एसोसिएसन र व्लड डोनर्स आवद्ध प्रसुना कंडेलले रगतको महत्वबारे उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विभिन्न संस्थाको सक्रियतामा स्वास्थ्य सचेतना कार्यक्रम गरिनु प्रशंसनीय कार्य भएको जनाए । कार्यक्रममा नेपालबाट आएकी नर्स राधा पौडेलले यस्ता कार्यक्रम नेपालमा पनि जरुरी रहेको बताइन् ।
फाउण्डेशनका ट्रष्टी अध्यक्ष उत्तम अमात्यले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा ब्लड डोनर्सका अध्यक्ष एभरेष्ट गौतमले धन्यवाद दिए । उक्त कार्यक्रम सफल बनाउन जया राई, प्रसुना कंडेल लगायतको सक्रिय सहभागिता थियो ।