कर्णालीमा हिमपात भएको छ। आइतावार राति ३ बजेदेखि वर्षा भएकोमा बिहान १० बेजेदेखि हिमपात शुरु भएको हो। हुम्लामा दुई फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण हुम्ला विद्युत् सेवा बन्द हुनुका साथै टेलिफोन सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा समेत बन्द भएको छ।
हुम्लाको उच्च हिमाली क्षेत्रमा ३ फिट भन्दा बढी हिउँ परेको हुन सक्ने अनुमान गरिएको छ। हिमपातका कारण हुम्लाको जनजीवन कष्टकर बनेको छ। घाम नलागेका कारण सञ्चारमाध्यमहरु समेत बन्द भएका छन्। सोलारको भरमा चलेका एफएम रेडियोहरु घाम नलागेपछि बन्द भएका हुन्। सरकारी तथा गैरसरकारी कार्यालयको कामकाकज ठप्प छ। सदरमुकाम आसपासका दोकान तथा पसलहरु बन्द छन्।
मुगुमा पनि अपरान्हदेखि हिमपात शुरु भएको छ। यहाँ बिहानैदेखि पानी परिरहेको थियो। जिल्लाको पूर्वी करान क्षेत्रका पाँच वटै गाविसमा भारी हिमपात भएको छ। सदरमुकाम आसपासका गाविसमा समेत निरन्तर हिउँ परिरहेको छ। हिमपातका कारण विद्यालय बन्द भएका छन्। जिल्ला विकास समिती वाहेक सवै कार्यालयको कामकाज ठप्प भएको छ।
नाग्म गमगडी बन्द छ। हिउँ थुप्रिएर बाटो अवरुद्ध भएपछि गाडी चल्न सकेका छैनन्। खुलाउने पहल शुरु भइरहदा फेरि हिमपात भएको थियो। दैनिक उपभोग्य वस्तु अभाव भएको छ। नाग्म देखि ९४ किलोमिटर सडकमा गाडी गुड्न सकेका छैनन्। सिजाको गोठिज्युा, नाग्म र वुलवुल लेकमै मालवाहाक गाडीहरु थन्किएका छन्।
सुकाढिक, ह्यांग्लु, कोटडाडा,फोतु र भिई गाविसका केहि भाग बाहेक सवै क्षेत्रमा यसपटक हिमपात भएको हो। यो हिउँले हिउँदे बाली उत्पादनमा वृद्धि गर्ने भन्दै किसान हर्षित भएका छन्।
यता रारा स्थित ताल्चा एयरपोट हिउँले सेताम्य छन्। जुम्ला सदरमुकाममा हिमपात भइरहेको छ। हिमपात र वर्षा एकै साथ भइरहेकोले त्यति जम्न नसकेपछि उच्च भागमा रहेका गाउँहरु निकै सेताम्य छन्। सदरमुकाम क्षेत्रमा झण्डै पाँच इन्च हिउँ जमेको छ। गाउँ वस्तीतिर आधा फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। हिमपातसँगै बढेको चिसोले जिल्लाका सबै क्षेत्रको जनजीबन कष्टकर बनेको छ।
शनिवार दिनभरी बादल लागेपछि राति देखि हिमपात शुरु भएको थियो। हिमपातका कारण सदरमुकाममा रहेका पसल तथा पसल बन्द छन्।
कर्णाली राजमार्गको जुम्ला खण्ड हिमपातले सेताम्य भएको छ। हिमपातले किसानमा उत्साह छाएको छ। हिमपातले स्याउ बगैँचा व्यवस्थापन गरेका किसानलाई खुसीको उवार ल्याएको छ। हिउँले लामो समयसम्म जमिनमा चिस्यान भइरहने हुनाले किसान खुसी भएका हुन्।
यता डोल्पा जिल्ला सदरमुकाम दुनै र अग्ला डाँडाकाँडाहरु हिमपातले सेताम्य छ। माथिल्लो डोल्पामा झण्डै दुई फिट बढी हिउँ जमेको छ। आइतवार दिउसोदेखि तल्लो डोल्पामा हिउँ पर्न थालेको हो। हिमपातका कर्णालीका जिल्लामा हवाइ उडान हुन सकेका छैनन्। हवाइ उडान नहुँदा जुम्लादेखि सुर्खेत नेपालगञ्ज जाने यात्रु अलपत्र परेका छन्।
शनिवार राति देखि अविरल परेको पानी र हिमपातले कालिकोटको जनजीवन प्रभावित भएको छ। शनिवार विहानको समयमा पानी परेर दिउँसो रोकिए पनि पुनः राति देखि पानी पुर्नुका साथै डाडाँकाडाँ तथा लेकाली क्षेत्रमा हिमपात हुँदा यहाँको जनजिवन प्रभावित भएको हो।
बाजुरा र कालिकोटको सिमानामा रहेका धौलागोह खिन,थिर्पु र नानीकोटको लेकाली बस्तीमा पनि भारी हिमपात भएको छ। हिमपात पछि गाई भैसी र ब्राखालाई दानापानी दिन धेरै कठिनाई भएको स्थानीयले बताए। जिल्लाको रुप्सा ,लालु ,माल्कोटमा पनि हिमपात भएको छ भने जिल्लाको पुर्वी क्षेत्रमा रहेका चिलखाया,फोइमहादेव,राचुली र जुविथामा पनि हिमपात हुदाँ जनजीवन कष्टकर भएको छ।
हिमपातसँगै चिसो बढेपछि बुढावुढी र बालबालिकालाई झनै चिसोले सताएको छ। लगातार पानी परेपछि विश्व बैंकको लगानीमा दैलेखको खिड्कीज्यूला देखि जुम्ला सम्मको ८ वटा प्याकेजमा पिच हुँदै आएको सडकको काम ठप्प भएको छ।
गाउँमा नेपाल टेलिकम मार्फत सञ्चालन गरिएका सिडिएमए तथा नमस्ते मोवाईलका टावर समेत बन्द भएका छन्। सदरमुकाम वाहेकका गाउँमा सञ्चालन हुँदै आएका दुरसंचारका टावरमा जडान गरिएको सोलारमा घाम नपरे पछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम कालिकोटले जनाएको छ। मौषम सफा भए सेवा सञ्चालन हुने बताइएको छ।






