चार दिनको सुत्केरीमै फत्तेमान साँझमा गाएँ

नेपाली गीतसंगीत क्षेत्रमा अन्जु पन्त चर्चित नाम हो । संगीतका पारखीहरु उनको स्वरमा लठ्ठिन्छन् । यो उचाइमा पुग्न अन्जुले निक्कै दुःख पनि गरिन । कतिसम्म भने फत्तेमान साँझमा गाउँदा त अन्जु चार दिनकी सुत्केरी थिईन् । आयोजकले यो कुरा अन्तिम समयमा मात्रै थाहा पाए । रिहर्सल गर्नेदेखि फत्तेमान साँझमा गाउँदासम्म उनले गरेका दुःख नयाँपेजसित बाँडिन् । पढौं उनकै शब्दमा:
फत्तेमान साँझमा फत्तेमान बाबासँग ‘घिन्ताङमा घिन्ताङ मादलु बज्यो’ गीत गाउन मेरो सिफारिस भएछ । तारादेवी दिदीले गाउनुभएको त्यो गीत फत्तेमान बाबासँग मैले गाउन पाउने भएँ । तर, म डेलिभरि हुने अवस्थामा थिएँ । मैले नलुकाइकन डाक्टरले दिएको टाइम फत्तेमान बाबालाई बताएँ । ‘सक्छौ त अञ्जु,’ उहाँले सोध्नुभो । फत्तेमान बाबासँग गाउनु अहोभाग्य थियो मेरा लागि । त्यो अवसर मैले गुमाउन चाहिनँ ।

पछ्यौरा ओढेर कार्यक्रमस्थल पुगेँ । नौ घन्टा बसिसकेँ, न स्टेज कम्प्लिट हुन्छ न रिहर्सलको वास्ता नै । मलाई एकदमै गाह्रो भो अनि पीडा पनि ।

डेरा धोबीचौरमा थियो, रिहर्सल गर्न हिँड्दै गुरुकुल(पुरानो बानेश्वरको उकालो) पुग्थ्यौँ । त्यो कार्यक्रममा मनोजजी(पूर्व श्रीमान)ले पनि हार्मोनियम बजाउनुभएको थियो । रिहर्सलमा हामी सँगै जान्थ्यौँ । रिहर्सल गर्दागर्दै वेलावेला पसिनैपसिना हुन्थ्यो, गाह्रो हुन्थ्यो । असह्य भएपछि मनोजजीलाई हेर्थेँ, उहाँ ‘ह्या’ मात्रै भन्नुहुन्थ्यो । सायद महिना ‘मिस’ भएछ, फत्तेमान साँझ हुने चार दिनअघि नै सुत्केरी भएँ । तर, सुत्केरी भएको आयोजकलाई थाहा दिएनौँ ।

anju
सुत्केरी भएको तेस्रो दिन ‘ग्रान्ड रिहर्सल’ थियो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा । पछ्यौरा ओढेर कार्यक्रमस्थल पुगेँ । नौ घन्टा बसिसकेँ, न स्टेज कम्प्लिट हुन्छ न रिहर्सलको वास्ता नै । मलाई एकदमै गाह्रो भो अनि पीडा पनि । छाती पोलेर सहीनसक्नु भयो, आँखाभरि आसु लिएर आयोजकलाई भनेँ, ‘तपाईंहरुले जोक ठान्नुभएको छ, तीन दिनको नानी छाडेर आएकी छु, नौ घन्टा बितिसक्यो रिहर्सलको सुरसार नै छैन ।’ सबै छक्क परे । यस्तो कलाकार हामीले देखेकै थिएनौँ भनेर सबैले मलाई ढोगे । ‘यस्तो बेला घरमै सुतेर म छैन भन्थे, भ्याइन भन्थे,’ सबैले मेरो हौसला बढाए, ‘त्यति एक टुक्रा गाउन एक महिनासम्म प्राक्टिस गरेर आउनुभो, तपाईंको संगीतप्रतिको ‘प्यासन’लाई सल्युट गर्छौँ ।’ त्यस दिन त्यत्तिकै भयो ।

छाती पोलेर सहीनसक्नु भयो, आँखाभरि आसु लिएर आयोजकलाई भनेँ, ‘तपाईंहरुले जोक ठान्नुभएको छ, तीन दिनको नानी छाडेर आएकी छु, नौ घन्टा बितिसक्यो रिहर्सलको सुरसार नै छैन ।’

कार्यक्रमको दिन बिहानै उठेर ‘ब्रस’ गरेँ, नुहाएँ । सुत्केरी हुँदा गर्ननहुने कुरा पनि गरेर कार्यक्रममा गएँ । डिल्लीबजारको ओरालोमा धेरै जाम थियो, ट्याक्सीबाट ओर्लेर हिँडेरै कार्यक्रमस्थल पुगेँ । त्यस दिन पनि स्टेजमा धेरै बेर बस्नुप¥यो । झन् एसीको चिसोले गाह्रो बनाएको थियो । कार्यक्रम ‘लाइभ टेलिकास्ट’ थियो, मलाई स्टेजमा बोलाउनेवेला मञ्जुल दाइले भनिदिनुभो, ‘तपार्इंहरुमाझ चार दिनको सुत्केरी अञ्जु पन्त आउँदै हुनुहुन्छ ।’ फत्तेमान बाबासँग गाउन पाउँदा एकदमै हर्षित थिएँ, स्टेजमा सुत्केरी हुँ भन्ने महसुस नै भएन । त्यो कार्यक्रम हेरेपछि माइतीका परिवारले भन्थे रे, ‘सुत्केरी भएकी छु भन्थी, होइन रहेछ ।’ त्यसबाट मैले चार हजार रुपैयाँ पारिश्रमिक पाएँ । त्यो पैसाले मनोजजीलाई गियरवाला साइकल किनिदिएँ ।