भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्ने

मुम्बइ विमानस्थलमा अवतरण भएपछि एमाओवादी नेता भट्टराईः तस्विरः भट्टराईको ट्विटर मुम्बइ विमानस्थलमा अवतरण भएपछि एमाओवादी नेता भट्टराईः तस्विरः भट्टराईको ट्विटर
काठमाडौं—एमाओवादी वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६ दिने भारत बसाईको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने भएका छन्। एमाओवादी अन्तरार्ष्ट्रिय विभाग सदस्य युवराज चौलागाईंका अनुसार उनले भारतीय सुरक्षा सल्लाहकारलाई समेत भेट गर्ने कार्यक्रम छ।

१२ बुँदे सहमति गराउन मुख्य भूमिका निर्वाह गरेका मुखर्जीसँग उनले मंगलबार राष्ट्रपति निवास भायसरोय हाउसमा भेट्ने कार्यक्रम तय भएको छ।

उनी अखिल भारत नेपाली एकता मञ्चको सातौं राष्ट्रिय सम्मेलनको कार्यक्रममा सहभागी हुन भारत गएका हुन्। शनिबार साँझ दिल्ली पुगेका भट्टराईले नेपाली विद्यार्थीहरुसँग भेटघाट गरेका थिए। त्यहाँ उनलाई भारतीय अधिकारीहरु र नेपाली विद्यार्थीहरुले स्वागत गरे। शनिबार राति दिल्लीमा बसेका उनी आज बिहानै मुम्बईतर्फ लागेका छन‍्।

मुम्बइमा भारतीय सुरक्षाकर्मीका साथ विमानस्थलबाट बाहिरिदै गरेको तस्बिर उनले फेसवुक र ट्विटरमा पोष्ट गरे। उनलाई स्वागत गर्न नेपाली एकता मञ्चका पदाधिकारी विमानस्थलमा उपस्थित थिए। ‘अखिल भारत नेपाली राष्ट्रिय एकता समाजको सम्मेलनमा भाग लिन दिल्लीबाट मुम्बइ गइरहेको छु। यो संस्थासँगका मेरा ३८ वर्षले भावुक बनायो’, यसअघि ट्विटमार्फत उनले भने।

मुम्बइ स्थित छत्रपति शिवाजी अन्तरार्ष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै भट्टराईको प्रतिनिधिमण्डल सोझै कार्यक्रमस्थल पुगेको थियो। उनी मञ्चको उद्‌घाटन कार्यक्रममा सहभागी भइरहेका छन्। दयानन्दवादी ग्रउन्ड वेष्ट मुम्बईमा भइरहेको कार्यक्रममा उनीसँगै गएका एमाओवादी महासचिव कृष्णवहादुर महरा पनि सहभागी छन्।

मंगलबार दिल्ली फर्कपछि उनले राजनीतिक भेटघाट थाल्ने कार्यक्रम रहेको बताइएको छ।

विपक्षीको पहिलो चरणको आन्दोलनपछि सत्तारूढ दलहरूसित संवाद सुरु हुने बताउँदै आएका भट्टराईले खुलामञ्चमा शनिबार भएको आमसभा लगत्तै दिल्ली प्रस्थान गरेका थिए।

भारतको जवाहलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास योजनामा १९८६ मा विद्यावारिधि गरेका भट्टराईको समय मिलेमा सो विश्वविद्यालयका नेपाली विद्यार्थीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।