प्रतिपक्षीले आन्दोलनको घोषणा गर्ने

सत्ता पक्षसँगको वार्ताले निकास दिन नसके एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । दिउँसो २ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको ३० दलीय मोर्चाको बैठकले आन्दोलन घोषणा गर्ने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । रेडियो न्यूज नेटवर्कसँग कुरा गर्दै उहाँले कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिनुभयो । प्रधानमन्त्री, मन्त्रीको सार्वजनिक कार्यक्रममा अवरोध, जिल्ला प्रशासन कार्यालयहरु घेराउ र झापादेखि कञ्चपुरसम्म बन्दसहित देशव्यापी आमहड्तालको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । ३० दलले फागुन १६ मा राजधानीमा शक्ति प्रदर्शन गरेपछि दलहरुबीच संवादको ढोका खुले पनि प्रगति भएको छैन । विगतका सहमति, सम्झौताको पालना गर्दै संविधान जारी गर्नुपर्ने माग विपक्षी मोर्चाको छ । तर, सत्तारुढ दलले सहमतिको सट्टा बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्न खोजेपछि दलहरुबीच दुरी बढेको छ ।