काठमाडौं– गुण्डा नाइके दीपक मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौका न्यायाधीश ऋषिकेश वाग्लेको एक इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले गत असार १६ गते धम्क्याएर असुल गरेको रकमसहित राजधानीको ठमेलबाट पक्राउ गरेको थियो भने अपहरण, शरीर बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा चलाएको थियो ।
अदालतले मनाङ्गेसँगै पक्राउ परेका उनका सहयोगी राजकुमार सिंहलाई समेत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
यसअघि जिल्ला अदालतबाट पटक–पटक म्याद लिएर प्रहरीले ६० दिनसम्म अनुसन्धान गरेर गत शुक्रवार सरकारी वकिल कार्यालय काठमाडौंलाई फाइल बुझाएको थियो ।
पछिल्लो समय शरीर बन्धक राखेर फिरौती असुल्ने काममा सक्रिय मनाङ्गेको बैंक डिपोजीट र घरजग्गामा गरेको लगानी धेरै रहेको प्रहरीले जनाएको छ ।






