काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दशगजाको धर्ना छाडेर वार्तामा आउन मधेसी दलहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै वरिष्ठ नेता देउवाले दशगजाको धर्नाले निकास नदिने भन्दै चाँडो वार्तामा बस्न मधेसी दलहरुलाई आग्रह गरेका हुन् ।
उनले बन्द, धर्ना र नाकाबन्दीले नेपालीलाई नै अप्ठ्यारो परेको भन्दै वार्तामा नआए मधेसी दललाई नै घाटा हुने चेतावनी दिए ।
नाकाबन्दीका कारण जनताले दुःख पाउँदासमेत सरकार मुकदर्शक भएको भन्दै उनले वार्ता र संवादका लागि सरकार लचिलो हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता देउवाले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डको रुपमा रहेको पर्यटन उद्योग धरासायी भएको भन्दै पार्टीबाट माथि उठेर पर्यटन क्षेत्रको विकासका लागि एकजुट हुन व्यवसायीहरुलाई आह्वान गरे ।
उनले लामो समयदेखिको नाकाबन्दीले पर्यटन क्षेत्र प्रभावित भइरहेको भन्दै यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान संशोधनबाट मात्र मुलुकले निकास पाउने बताए ।






