वैद्य माओवादीले भन्यो- मधेसी मोर्चाको माग पूरा गरिए देशको अस्मिता लुटिन्छ

पाल्पा, १९ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी) का नेता देवप्रसाद गुरुङले मधेसकेन्द्रित दलले राखेको दुई माग पूरा गरिए देशको अस्मिता सङ्कटमा पर्ने बताउनुभएको छ ।
माओवादीले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्ति मुख्य पदमा पुग्न पाउनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पूरा भए नेपालको अस्मिता समाप्त हुने बताउनुभयो ।
नेता गुरुङले भारतसँगको खुला सिमानाका कारणले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने बताउनुभयो । “मधेसमा सिमाना खुला छ, त्यहाँका नागरिकलाई सीमामा आवतजावतमा कुनै रोकतोक छैन”–उहाँले भन्नुभयो, “यसले नेपाली र भारतीय भन्ने छुट्याउने आधार छैन, यसबाट नेतालको जनसङ्ख्या कति हो भन्ने निश्चित गर्न सकिँदैन ।” नेता गुरुङले नेपाललाई नै एउटै निर्वाचन क्षेत्र बनाएर जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्दा उपयुक्त हुने धारणा राख्नुभयो
उहाँले एकीकृत नेकपा (माओवादी)सँग तत्कालका लागि पार्टी एकता हुन सक्ने आधार तय नभइसकेको बताउँदै मालेमावादका आधारमा पार्टी एकता हुन सक्ने बताउनुभयो । रासस