चीन र भारतलाई जोड्ने किमाथाङ्का-विराटनगर सडक खोल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले किमाथाङ्का–विराटनगर सडकको दुई वर्षभित्र ट्र्याक खोली सञ्चालन गरिने बताउनुभएको छ ।
किमाथाङ्का–विराटनगर यातायात तथा विकास सरोकार समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले त्यस क्षेत्रका जनप्रतिनिधि एवम् सरकोकार भएकाहरुसँग उक्त सडक आयोजनालाई दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो र वर्षैभरि सञ्चालन गर्न सकिने सो सडकको विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई वर्षभित्र दुई लेनको बाटो तयार हुन्छ, तपाईँहरु ढुक्क हुनुहोस् ।”
उहाँले उप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री र अर्थमन्त्रीलाई सोमबार उक्त सडक आयोजनाको निरीक्षण गर्न पठाउन लागिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले पूर्वपश्चिम सडक, मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम रेल मार्गलाई सरकारले प्राथमिकतामा राखेको पनि बताउनुभयो ।
उहाँले गल्छी–स्याफ्रुबेँसी करिडोरको काम सुरु भइसकेको उल्लेख गर्दै भारत र चीन जोड्ने सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याइने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुस्ताङ एवम् मुगुको नाकालाई चाँडो सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो ।
विविध स्रोत साधन र संस्कृतिले भरिपूर्ण देशको सद्भावमाथि आक्रमण हुन लागेको भन्दै उहाँले त्यसतर्फ सचेत हुँदै मातृभूमिको रक्षाका लागि सबै जातजाति भाषा र धर्मका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “देव भूमिलाई बिगार्ने खेल भइरहेको छ, यस विविधताको दुरुपयोग गर्न दिनुहुन्न, एकताबद्ध भएर तिनको संरक्षण गर्नुपर्छ ।”
सो अवसरमा उपप्रधानमन्त्री सिपी मैनालीले देशको विकासका लागि अत्यन्त महत्वपूर्ण मानिएको किमाथाङ्का सडक सरकारको विशेष प्राथमिकतामा परेकाले त्यसलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वर्षैभरि सञ्चालन गर्न सकिने र भारतको कोलकातासम्म पुग्नका लागि उपयुक्त सडक भएकाले त्यो सरकारको प्राथमिकतामा परेको भन्दै स्थानीयस्तरका सबै जनताले एकताबद्ध भएर सघाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले भारतको अघोषित नाकाबन्दीका समयमा उत्तरतर्फका नाका खोल्न र सञ्चालन गर्ने विषयमा तत्परता देखाउने तर दक्षिणका नाका खुलेपछि सेलाउने अवस्था आउन हुँदैन भन्दै दुवै देशका नाकालाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले किमाथाङ्का नाकालाई सहज रुपमा सञ्चालन गर्न सकिने अवस्थामा त्यस क्षेत्रमा सञ्चालन भएका चार जलविद्युत् आयोजनाले प्राथमिकता पाउने भएकाले पनि त्यसलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युुवराज खतिवडा र सडक विभागका निमित्त महानिर्देशक केशव शर्माले आर्थिक एवम् सामरिक रुपमा पनि उपयुक्त किमाथाङ्का–विराटनगर सडकलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
किमाथाङ्का–नुम–तुम्लिङ्टार–लेगुवाघाट–बराहक्षेत्र–इटहरी–जोगबनी जोड्ने सो सडकको लम्बाइ १९० किमी छ । त्यसका लागि रु दुई खर्बभन्दा बढीको लगानी आवश्यक पर्छ तर ट्र्याक मात्र खोल्नका लागि करिब रु २० अर्ब लाग्ने बताइएको छ । उक्त सडकखण्डमा बन्ने सुरुङमार्गको लम्बाइ ४५ किमी र ३० किमीको पुल निर्माण हुनेछ । रासस