लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) को उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायकी एक सक्रिय महिला अभियन्ता डा. रक्षा थापा पनि चुनावी मैदानमा उत्रिएकी छिन्।
आगामी जुलाई २६ मा तय एनआरएनए यूके निर्वाचनका लागि डा. थापाले आफ्नो प्रतिवद्धतासहित बिहिबार साँझा साउथ ह्यारो स्थित गोल्डेनसीप रेस्टुरेन्टको सभाहलमा प्रेसमिटमार्फत आधिकारिक घोषणा गरेकी हुन्
बेलायतमा नेपाली महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सिकाइ समस्या र अटिजम भएका व्यक्तिहरूको सेवामा सक्रिय रहने बताउदै नेपाल र बेलायत दुवै देशमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा योगदान कार्यक्रम आफ्नो प्रमुख एजेण्डाभित्र रहेको उनले बताइन् ।
उनले लन्डन नेपाल न्युज सँगा प्रतिक्रिया दिदै ‘एनआरएनए जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा महिलाहरुको सक्रियता र संगठित आफ्नो प्रमुख प्राथमिकता रहने बताइन् ।
को हुन् डा. रक्षा थापा
बोर्नमाउथ विश्वविद्यालयबाट स्वास्थ्य तथा सामाजिक विज्ञानमा विद्यावारिधि हासिल गरेकी डा. थापा लामो समयदेखि महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सिकाइ समस्या र अटिजम भएका व्यक्तिहरूको सेवामा सक्रिय छिन्। उनले नेपाल र बेलायत दुवै देशमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा योगदान दिँदै आएकी छन्।
उनको नेतृत्वमा दुई जना युवा क्रिकेट खेलाडीलाई पूर्ण शैक्षिक सहयोग, नेपालमा बालबालिका, वृद्धवृद्धा र पशु कल्याण संस्थाहरुलाई नियमित वार्षिक सहयोग, र विभिन्न सामाजिक परियोजनामा सक्रिय सहभागिता छ ।
उनी स्लाउ नेपाली समाज, यती नेपाली एसोसिएसन यूके, क्षेत्री समाज बेलायत लगायतका संस्थामा सक्रिय रूपमा आवद्ध छिन्।
घोषणासभामा विभिन्न संघसंस्थाका अगुवाहरुले अग्रीम शुभकामना दिएका छन् ।
शुभकामना मन्तव्यका क्रममा डा. थापाका श्रीमान् राज पाण्डेले संस्थालाई बाहिरबाट गाली गरेर होइन्, संस्थाभित्रै रहेर सुधार गर्न सकिने विश्वासका साथ उनलाई अगाडि बढ्न प्रोत्साहित गरेको बताए । पाण्डेले संस्थामा राजनीति गर्न नभइ काम गर्न आएको पनि उल्लेख गरे ।
यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले थापालाई जिताउन खुलेरै लाग्ने बताए । उनले सबै मतदातालाई मत दिएर नेतृत्वमा महिलालाई अवसर दिन अपिल गरे ।
यती नेपाली एसोसिएसन यूके अध्यक्ष टंक भट्टराईले डा. थापाले यसअघि व्यवसायिक र सामाजिक नेतृत्व प्रमाणित गरिसकेको जनाउंदै अब संघमा युवाहरुको खांचो रहेको बताए ।
आरजीएनएसका पूर्व अध्यक्ष पूण्य रेग्मीले हेटौंडाको सामान्य परिवारबाट यूके आएर यहां व्यवसाय तथा सामाजिक क्षेत्रमा सफल बन्दै उदाहरणीय र प्रेरणादायी बनेको बताए । डा. थापालाई विश्वास गर्नु समग्र युवा पुस्तालाई नै अवसर र प्राथमिकता दिनु रहेको जनाउंदै मत दिन आग्रह गरे ।
सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूके अध्यक्ष गजेन कटुवालले एनआरएनए, नेता र बेलायतको डायष्पोरामाथि नकारात्मक टिकाटिप्पणी भइरहेको र संस्थाको साख खस्किंदा अब रक्षा थापाले त्यसलाई रक्षा गर्ने धारणा राखे ।
नेपलिज नर्सिंग एसोसिएसन यूकेका पूर्व अध्यक्ष बिनोदविकास सिम्खडाले लिडरसीप क्वालिटी, योग्यता र विचारका कारण रक्षाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।
स्लाउ नेपलिज सोसाइटी यूकेका अध्यक्ष लेखनाथ घिमिरेले बेलायतको सबैभन्दा रोगी संस्था एनआरएनए यूकेलाई डा. रक्षाले सुशासन र वित्तिय पारदर्शीतामार्फत रोगबाट बाहिर आउन मद्दत गर्ने आशा व्यक्त गर्दै जीतका लागि शुभकामना दिएका थिए ।






