३५ वर्षपछि प्रहरी चौकीको आफ्नै भवन

स्थापना भएको ३५ वर्षपछि मात्र नवलपरासीको हकुईस्थित अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण सम्भव भएको छ । स्थानीयवासीको आर्थिक सहयोग र प्रहरीको श्रमदानबाट करिब रु १० लाखको लागतमा भवन निर्माण पूरा भएको हो । चारकोठे भवन निर्माणबाट अस्थायी प्रहरी चौकीका सुरक्षाकर्मीलाई बसोबास गर्नुका साथै जनतालाई सुरक्षा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । विसं २०३६ मा स्थापना भएको अस्थायी प्रहरी चौकीका लागि गाविसले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिएको छ ।
नवनिर्मित भवनको एक कार्यक्रमबीच लुम्बिनी अञ्चलका प्रहरी प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले उद्घाटन गर्दै जनताले प्रहरीका लागि आफ्नो लगानी गरेर भवन निर्माण गरेको कामको प्रशंसा गर्दै अब प्रहरी झन् जनमैत्री भई जनताको सेवामा समर्पित हुने बताउनुभयो ।