लन्डन । लन्डनस्थित नेपाली दूतावासमा ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले व्यवसायिक तथा नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ।
बीएनसीसीका उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा सुरुमै उपस्थित सबैले नेपालमा हालै आएको बाढी तथा ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।
आईटी विज्ञहरूको भेलालाई सम्बोधन गर्दै लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल–बेलायत व्यापारिक सम्बन्ध विस्तारमा बीएनसीसीले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गरे।
कार्यक्रममा काठमाडौंस्थित ब्रिटिश दूतावासको व्यापार तथा वाणिज्य विभागका प्रमुख अनुप श्रेष्ठ, नास–आइटीका उपाध्यक्ष विभूषण विष्ट, वेस्ट लन्डन चेम्बर अफ कमर्सकी उपाध्यक्ष डा. रेणु राज तथा चिल्ड्रेन भिजनका रमेश सिलवालले मन्तव्य राखेका थिए।
त्यस्तै विशिष्ट अतिथिहरूमा चण्डीराज ढकाल तथा डा. रोहिथा सिल्वाल लगायतको उपस्थिति रहेको थियो।
बीएनसीसीका अध्यक्ष बिराज भट्टले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपाल र बेलायतबीच व्यापार तथा व्यवसाय प्रवर्द्धन र सहजीकरणमा बीएनसीसीको भूमिकाबारे प्रकाश पारे।
उक्त कार्यक्रममा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटी) का प्रतिनिधिमण्डलसहित बेलायतमा रहेका व्यवसायी, प्रविधि क्षेत्रका विज्ञ, पेशाकर्मी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वादिष्ट भोजन ‘नेवा छे’ ले व्यवस्थापन गरेको थियो।






