लण्डन । “हाम्रो संस्कार, संस्कृति र पहिचानको गौरव – आपसी सद्भाव, सहयोग र आत्मीय भेटघाटको साझा उत्सव” भन्ने मूल नाराका साथ गुल्मी जिल्ला समाज यूकेले आफ्नो १८औँ वार्षिक भेला २०२६ को तिब्र तयारी गरेको छ।
समाजको १८औं वार्षिक भेला आगामी अगस्ट २ तारिख आइतबार आयोजना हुने भएको छ। विभिन्न मौलिक नृत्य, प्रथम नौमती बाजा तथा चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति सहित भेला सम्पन्न गर्न लागिएको समाजकी अध्यक्ष मञ्जु भण्डारीले जानकारी दिइन्।

फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स लेजर सेन्टरमा हुने उक्त कार्यक्रममा लोक तथा दोहोरी गीतका ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहने अध्यक्ष भण्डारीले बताइन्।
उनले हरेक वर्षझैं यस वर्ष पनि सांस्कृतिक, सामाजिक तथा आपसी एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको स्पष्ट पारिन्।
समाजका महासचिव मोहन घिमिरेका अनुसार कार्यक्रममा गुल्मीको कला र संस्कृतिलाई झल्काउने प्रथम नौमती पञ्चेबाजा, सालैजो, सोरठी, झ्याउरे, भजन–कीर्तन तथा तीज गीतहरू प्रस्तुत गरिनेछ। यस कार्यक्रममार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उनले बताए।
यसै बीच कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेले नवनियुक्त ट्रष्टी, सल्लाहकार तथा विभिन्न पदाधिकारीहरुलाई लन्डनमा आयोजित एक कार्यक्रममार्फत स्वागत तथा सम्मान गरेको छ।
आइतबार वुल्लीचस्थित गुल्मी रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा हालै नियुक्त सल्लाहकार र ट्रष्टीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो। समाजकी अध्यक्ष मञ्जु भण्डारीले उनीहरुलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।
अध्यक्ष मञ्जु भण्डारीको अध्यक्षता र महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समाजको कार्यसमितिले आगामी कार्यकालका लागि ट्रष्टी बोर्डमा नयाँ मनोनयन गरेको छ। ट्रष्टी बोर्डमा पूर्व अध्यक्ष राम गलामी संयोजक तथा वरुण भण्डारी सदस्यसचिव रहेका छन्। साथै, वर्तमान अध्यक्ष मञ्जु भण्डारी, महासचिव महलाल घिमिरे, कोषाध्यक्ष अर्जुन बस्नेत, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष टोप पल्ली, केशव भण्डारी, रण खाती क्षेत्री, मुकुन्दहरि खराल र तेज रानामगर सदस्यका रूपमा रहेका छन्।

सल्लाहकार फडिन्द्र भट्टराईको संयोजकत्वमा विधान समिति गठन गरिएको छ, जसमा रण खाती क्षेत्री र उपाध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगा सदस्य रहेका छन्।सल्लाहकार विनोद ज्ञवालीलाई अनुशासन समितिको संयोजकमा नियुक्त गरिएको छ।
उपाध्यक्ष तथा अगष्ट २ मा हुने वार्षिक भेलाका संयोजक रिटायर्ड क्याप्टेन ताम ढेगाले तयारी बारे जानकारी गराएका थिए भने पूर्व अध्यक्ष तथा सहसंयोजक वीर बलालले कलाकारहरुको सम्बन्धमा जानकारी गराएका थिए।
महासचिव महलाल घिमिरेले अतिथि निमन्त्रणाबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष अर्जुन बस्नेतले संस्थाको आर्थिक अवस्था तथा बैंक खाताबारे विवरण प्रस्तुत गरेका थिए।I’m
अध्यक्ष मञ्जु भण्डारीले यस वर्षको भेला पनि विगतझैँ भव्य, व्यवस्थित र मनोरञ्जनात्मक बनाउने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिँदै कार्यक्रम सफल बनाउन सम्पूर्ण सल्लाहकार, कार्यसमिति तथा सदस्यहरुको सक्रिय सहभागिताका लागि आग्रह गरिन्।
कार्यक्रममा समाजका सल्लाहकार तथा पूर्व अध्यक्षहरु टोप पल्ली, वीर बलाल, रणबहादुर खाती क्षेत्री, विनोद ज्ञवाली, दासुराम पाण्डे, फडिन्द्र भट्टराई, कमल भण्डारी, तारा भट्टराई, भीम खनाल, मुकुन्दहरि खराल, राजेन्द्र श्रेष्ठ, चक्रबहादुर राना, गोपाल अर्याल, खड्क रेश्मी, डम्बर श्रीष, रेशम अर्याल, कृष्ण भण्डारी, शिव भण्डारी, ध्रुवराज अर्याल लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यसमितिका उपाध्यक्ष डा. विष्णु घिमिरे, सचिव राधा खरेल, विश्व सिंहलगायत अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो।

आगामी अगष्ट २ गते आयोजना हुने वार्षिक भेलालाई भव्य तथा सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष भण्डारीले सम्पूर्ण सदस्यहरूलाई सक्रिय एवं उत्साहजनक सहभागिता जनाउन हार्दिक आग्रह गरेकी छन् ।






