भूकम्पपछि स्वात्तै घटे पर्यटक

मुस्ताङ,जेठ ३ – वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण पर्यटकले धमाधम भ्रमण रद्द गरेपछि यहाँको होटल व्यवसाय धराशायी हुन थालेको छ । भूकम्पअघि भरिभराउ हुने होटलहरु अहिले सुनसान बनेका छन् । मौसमको समयमा आएको विपत्तिका कारण पर्यटक आउन छाडेपछि दैनिक रु ३७ लाख बढीको कारोबार हुने होटल व्यवसाय धराशायी बन्दै गएको हो । व्यापार नभएपछि आगामी दिनमा कसरी दैनिकी चलाउने भन्ने चिन्ता पलाउन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए । “विपत् आएका बेला हाम्रो समस्या त सानो हो तर, यहाँका होटल बन्द हुने स्थितिमा पुगेका छन्, उनले भने,“पर्यटक नआएपछि कसरी होटल चल्छ रु” घाँसादेखि मुक्तिनाथसम्म करिब १५० वटा साना तथा ठूला होटल सञ्चालित छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्राका साथै मुक्तिनाथ मन्दिर, लोमान्थाङ क्षेत्र, हिमाली कला संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउन यो मौसममा दैनिक सयौँ पर्यटक भ्रमणमा आउने गर्थे । विनाशकारी भूकम्पपछि होटल व्यवसायीले अहिलेसम्म करिब रु छ करोड नोक्सानी व्यर्होनुपरेको अध्यक्ष तुलाचनको भनाइ छ । भूकम्प जानुभन्दा अघि, दैनिक तीन हजारको हाराहारीमा पर्यटक भित्रिए पनि त्यसपछि ठप्प बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । पर्यटक नआउँदा यातायात व्यवसायीहरु पनि समस्यामा परेका छन् । उनीहरु जोमसोमदेखि मुक्तिनाथ, लोमान्थाङसम्म पर्यटकलाई घुमाउँदै आएका छन् । दैनिक रुपमा जाने पराकम्पनले पर्यटक आउन नसकेको होटल व्यवसायीहरुको भनाइ छ ।