सिड्नी। नेपलीज हिन्दू सोसाइटी अष्ट्रेलियाको आयोजनामा “श्रीमद्भागवत सप्ताह पितृ मुक्ति ज्ञान महायज्ञ २०२६” अन्तर्गत पितृ मोक्ष सप्ताह कार्यक्रम फेब्रुअरी २३ सोमबारदेखि सिड्नीमा सुरु भएको छ। कार्यक्रम मार्च १ आइतवारसम्म सञ्चालन हुनेछ।
रोजहिलस्थित BAPS Shri Swaminarayan Hindu Mandir मा आयोजना भइरहेको सप्ताहमा कार्यक्रमको उद्घाटन समारोहमा न्यु साउथ वेल्सका लागि अवैतनिक वाणिज्य दूत सञ्जीव शर्मासहित विभिन्न अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। नेपालबाट आएका अन्तर्राष्ट्रिय कथा व्यास गुरु कुँवर सुवेदी र आध्यात्मिक साधक मुकुन्द शर्माको मुखारविन्दबाट दैनिक अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म श्रीमद्भागवत कथावाचन भइरहेको छ। कथा समापनपछि राति ८ बजेदेखि ९ बजेसम्म विशेष आरती गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
सप्ताह अवधिभर सात जना कर्ताले नियमित रूपमा कथा श्रवण गर्दै पितृ मुक्ति अनुष्ठान गरिरहेका छन्। अन्य श्रद्धालु भक्तजनहरू भने आफ्नो समय मिलाएर सहभागी भइरहेका छन्। नेपलीज हिन्दू सोसाइटी अष्ट्रेलियाको पण्डित प्रकाश ढोडारी लगायत तथा स्वयंसेवकहरू कार्यक्रम सफल बनाउन सक्रिय रूपमा जुटिरहेका छन्।
समाजकी अध्यक्ष लक्ष्मी बस्ताकोटीका अनुसार विदेशमा बसोबास गर्ने नेपाली समुदायबीच धर्म, संस्कार र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। महायज्ञ समापनका दिन हालसम्म ३२ जना बटुकहरूको सामूहिक व्रतबन्ध गर्ने कार्यक्रम तय भएको छ भने सहभागी संख्या अझै बढ्न सक्ने जनाइएको छ।आयोजकले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई पुण्य लाभ लिन आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था समेत गरिएको बताइएको छ।






